प्रतिनिधिसभाः ‘अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन गरिने’

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरुले सडक र भौतिक पूर्वाधारका विषयमा उठाउनुभएका प्रश्नको जवाफ दिने क्रममा उहाँले अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।

भौतिक, पूर्वाधार र यातायतका विषयमा उठेका प्रश्नलाई उहाँले सकारात्मक सुझावका रुपमा लिएको बताउँदै वर्षातका कारण मन्त्रालयलाई काम गर्न केही कठिन भएको जानकारी गराउनुभयो । “अविरल वर्षासँगै आएको पहिरोले नागढुङ्गा खण्ड अवरुद्ध भएको थियो, उक्त पहिरो तत्काल पन्छाएर आवागमन नियमित सञ्चालन गर्न केही समस्या भयो । योबाहेक अन्य राष्ट्रिय राजमार्गमा भएको सडक अवरुद्ध दुई घण्टाभित्र हटाउन सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

सभाको आजको बैठकमा अधिकांश सांसदले हुलाकी राजमार्गअन्तर्गत धुनषा र सिरहाको दक्षिणी सिमानास्थित कमला नदीमा बन्दै गरेको पुल भासिएको अवस्थाबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उक्त प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले ठेकेदार र निर्माण व्यवसायीको बीमा विवादले पुनः निर्माण रोकिएको जानकारी गराउनुभयो । उहाँले यो समस्या समाधान गर्न सम्बन्धित पक्षसँग छलफल गरेर यथाशीघ्र निकासा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

पुल निर्माणको मागसहित अनशनमा बस्नुभएका स्थानीयलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले भन्नुभयो, “अनशन बसेर समस्याको समाधान आउँदैन, सबै मिलेर छलफल गरौँ र समाधान निकालौँ ।”

भौतिक मन्त्रालयमा फाइल थन्किएको छ भन्ने सांसदहरुको प्रश्नलाई मन्त्री दाहालले कर्मचारी व्यवस्थापन गरेसँगै कुनै पनि पुराना कामसम्बन्धी फाइल कार्यालयमा नरोकिने जानकारी दिनुभयो । उहाँले आगामी असोजसम्म भौतिक निर्माणसम्बन्धी सम्पूर्ण ठेक्काहरु लागू गरिसक्ने मन्त्रालयको लक्ष्य रहेको बताउनुभयो । “बर्खाको समय भएकाले केही काममा ढिलाइ र केही काम अवरुद्ध भएका छन्”, उहाँले भन्नुभयो, “आगामी असोजसम्ममा सम्पूर्ण ठेक्काहरु सुरु गरिसक्छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.