व्यवसाय दर्ता गर्ने व्यवस्था गर्न सुस्तावासीको आग्रह

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुँदा स्थानीयलाई समस्या भएको छ ।
नारायणीपारीको सुस्ता गाँउका अधिकांश स्थानीयसँग नागरिकता र लालपुर्जा छैन् । लालपुर्जा नहुँदा व्यपार व्यवसाय दर्ता पनि हुन सकेको छैन ।
कतिपय स्थानीयले उद्योग व्यवसाय बिना दर्ता सञ्चालन गरेपनि उत्पादित समाग्री किनबेचमा समस्या भएको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयो ।
साथै सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत समेत विस्तारको क्रममा रहेकाले विद्युत मिटरका लागि पनि लालपुर्जा नहुँदा समस्या भएकाले समस्या समाधानको लागि सुस्ताबासीले सरकारसँग माग गरेका छन् ।
नारायणीपारीको सुस्ता गाँउमा झन्डै ३ सय परिवारको बसोबास छ । जसमध्ये अधिकांशसँग नागरिकता नहुँदा सरकारी निकायसँग सम्बन्धित कामबाट सुस्ताबासी बन्चित हुँदै आएका छन् ।
सदरमुकाम परासीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताका लागि सुस्ताबासी आउने गरेपनि कार्यालयले लालपुर्जा नभएको भन्दै फिर्ता पठाइदिने गरेको छ । नागरिकता नहुँदा लालपुर्जा पनि सुस्ताबासीसँग छैन ।
सोही समस्यालाई मध्यनजर गर्दे जिल्लाका प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारको ध्यानआर्कषण गराएका छन् । सुस्ताको समस्या विशिष्ट खालको भएकाले स्थानिय तहको सिफारिसको आधारमा घरेलु कार्यालयमा व्यवसाय दर्ताको अनुमति दिन प्रदेश सरकारको ध्यानार्कषण गराएको जयसवालले बताउनुभयो ।
बिहीवार जिल्लाबाट प्रतिनिधित्व गर्ने चारै जना प्रदेश सभा सदस्यहरु देवकरण कलवार सन्तु, विश्वप्रेम पाठक, खड्ग बस्नेत र वैजनाथ कलवारले लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीय तहको सिफारिसको आधारमा व्यवसाय दर्ताको व्यवस्था प्रदेश मातहत रहेको घरेलु कार्यालयमा हुनुपर्नेमा माग सहितको ज्ञापन पत्र बुझाइएको हो ।
भारतीय अतिक्रमणको चपेटमा पर्दे आएको सुस्ता भौतिक पुर्वाधारले सम्पन्न हुँदै गएपनि नागरिकताको समस्या भने जस्ताको तस्तै छ । अधिकांशसँग नागरिकता नहुँदा मतदानदेखि सरकारी सेवा सुविधाबाट सुस्तावासी बन्चित हुँदै आएका छन् ।
अहिले नारायणी नदी पारी सुस्ता गाँउ जोड्ने गरी नेपालकै लामो झोलुगें पुल निर्माण भएपछि आउजाउमा सहज भएको छ ।
सो पुलबाटै राष्ट्रिय प्रशारण लाइनको विद्युत सुस्तामा पुग्दैछ तर लालपुर्जा नहुँदा विद्युत मिटर कसरी जडान गर्ने भन्नेमा सुस्ताबासी चिन्तित बनेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्