खोटाङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
खोटाङ -खोटाङमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
विद्यालयबाट घर फर्कने क्रममा गर्मी छल्न भन्दै पौडी खेल्न स्थानीय चंखु खोलाको दहमा पसेका बालकहरुको मृत्यु भएको जनाईएको छ ।
खिरुका स्थानीय टंकराम राईका छोरा अर्जुन र भोजकुमार राईका छोरा राजको शुक्रबार दिउँसो खोलाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
मृतकद्वय अर्जुन र राजको बुबाहरु एकाघरको दाजुभाइ रहेको स्थानीय बासिन्दाले बताएका छन् । मृतक अर्जुन सोही स्थानका जनहित आधारभूत विद्यालयको कक्षा–५ मा तथा राज कक्षा–४ मा अध्ययनरत रहेका थिए ।
घर र विद्यालयको बीचमा पर्ने खोलामा वारपार गर्न झोलुङ्गे पुल छ । तर विद्यालयबाट सँगै घर फर्किरहेका चार विद्यार्थीमध्ये अर्जुन र राज भने ‘गर्मी भयो’ भन्दै पौडी खेल्नका लागि पुलबाट करिब ५० मिटर तल दहमा झरेका थिए ।
साथी डुबेपछि पुलमा बसेर हेरिरहेका विद्यार्थीले गाउँमा खबर पुर्याएका थिए । सँगै विद्यालयबाट फर्किएका दुई विद्यार्थीले खबर गरेपछि आफन्त तथा स्थानीयले दहमा डुबिरहेको अवस्थामा दुई बालकको शव निकालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्