सङ्खुवासभामा ड्युटी खटिएका प्रहरी सहायक हवलदारको निधन
सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिका –२ प्रहरी चौकी मङ्गलबारेमा कार्यरत प्रहरी सहायक हवलदारको निधन भएको छ । प्रहरी चौकी मङ्गलबारेमा ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवलदार पुरुषोत्तम निरौला उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी चौकी मङ्गलबारेमा कार्यरत प्रहरी सहायक हवलदार निरौला शनिवार दिउँसो ड्युटी गर्दागर्दै अचानक बेहोस भएका थिए ।
प्रहरी सहायक हवलदार निरौला ड्युटी गर्दागर्दै एक्कासि लडेर बेहोस भएपछि उपचारका लागि तेह्रथुमको वसन्तपुरमा लगिएको थियो । प्रहरी सहायक हवलदार निरौलालाई तेह्रथुम जिल्लाको वसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा गए राति मृत घोषणा गरिएको थियो । मृतक हवलदार निरौलाको शव सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आइतबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका –२ घर भई केही वर्षयता सङ्खुवासभा जिल्लामा कार्यरत थिए ।
त्यस्तै गरी चट्याङ लागेर जिल्लाको सिलिचोङ गाउँपालिका–४ मांतेवामा एक जनाको मृत्यु भएको छ । शनिवार राति घरमा परेको चट्याङले सिलिचोङ –४ मांतेवाका ३४ वर्षीय तीर्थराज कटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव आइतबार जिल्ला अस्पतालमा ल्याइएको छ ।
प्रतिक्रिया राख्नुहोस्