‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाई नलमा

काठमाडौँ –  नेपालको सर्ट फिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाई नलमा पुगेको छ । ‘लाइट अफ द वर्ल्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरूमध्येबाट ‘द स्कुल वाल’ फाइनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने सो चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ प्रदर्शनसमेत हुँदै छ । फाइनल चरणमा नेपालको तर्फबाट द स्कुल वाल सँगै अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी रहेको छ । उक्त चलचित्र महोत्सवलाई रुसी अर्थोडक्स चर्चको यारोस्लाभ मेट्रोपोलियाको रिबिन्स्क डायोसेजको आयोजना तथा राष्ट्रिय प्रतिलिपि अधिकार समर्थन कोष र राष्ट्रपति अनुदान कोषले सह–आयोजना गरेको छ ।

रसियाको फेस्टिभल आयोजक टिमबाट कार्यक्रममा सहभागी हुनको लागि निमन्त्रणा आएसँगै रसियन एम्बेसीले भिसा पनि दिई सकेको तर रसिया युक्रेन युद्धको कारण नेपाल सरकारले नै नेपालीहरूलाई रसिया प्रवेशको लागि रोक लगाएकोले समस्या उत्पन्न भएको निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् । परराष्ट्र मन्त्रालय पनि गएको तर परराष्ट्रले पहिलो पटक रसिया जानेलाई एन ओ सी उपलब्ध नगराउने बताएको उनी बताउँछन् । अन्तर्राष्ट्रिय खेलहरूले देशको प्रतिनिधित्व गरेजस्तै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भई छनोट भएका चलचित्रहरूले पनि देशको प्रतिनिधित्व गरेर देशको गौरव बढाई रहेको हुन्छ । तसर्थ नेपाल सरकारले नै चलचित्र महोत्सवमा सहभागी हुनको लागि वातावरण मिलाइदिनुपर्नेमा सरकाले नै सहयोग नगरेको क्षेत्रीको गुनासो छ ।

बाल मनोविज्ञानमा आधारित लघु चलचित्र ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेसन एन्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाइम फिल्म मकर सेसन्समा छनोट भएको थियो । ‘द स्कुल वाल’ काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो ।

लघु चलचित्रमा श्लोक साहले मुख्य भूमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरू सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोइराला, उद्धव दंगाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । लघु चलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिक डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् ।
‘द स्कुल वाल’ मा पर्खालको रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघु चलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौँमा छायाङ्कन गरिएको लघु चलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघु चलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्र ‘द स्कुल वाल’ को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनले यसअघि निर्माण गरेका लघु चलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर विभिन्न देशहरूमा प्रदर्शनसमेत भइसकेको छ । उनी अहिले नयाँ सर्ट फिल्म ‘दृश्य’को तयारी गरिरहेको बताउँछन् । एक सटमा खिचिएको ’घुर्रा’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड समेत प्राप्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.