कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानलाई राहत

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले निर्माण गरी सञ्चालनमा ल्याएको कोल्ड स्टोरले स्थानीय किसानहरूलाई राहत मिलेको छ । बेनी नगरपालिका–४, सिङ्गा स्थित राजकुलोमा निर्माण गरी सञ्चालित सिङ्गा कोल्ड स्टोर अर्थात् शीत भण्डार अहिले नियमित रूपमा प्रयोगमा आएपछि किसानलाई सहज भएको हो ।
गएको आर्थिक वर्ष २०८०÷०८१ बाट सञ्चालनमा आएको कोल्ड स्टोरमा म्याग्दी जिल्लाका किसानहरूले गत वर्ष उत्पादन गरेका कृषि उपजहरू लगेर राखेका छन् । गत वर्ष कोल्ड स्टोरमा पहिलो चरणमा सुन्तला भण्डारण गरिएको थियो । कोल्ड स्टोरमा राखिएको सुन्तलाको सफल परीक्षण भएपछि अहिले म्याग्दीका किसानहरूले वर्षे सिजनमा लगाएको आलु भण्डारण गरिएको बेनी नगरपालिकाले जनाएको छ ।
वर्षे सिजनमा उत्पादन भएको खायन आलु सुरक्षित गरी कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको छ । गत वर्ष सुन्तलाको सिजनमा करिब १५ सय केजी सुन्तला भण्डारण गरेका किसानहरूले पहिलो चरणको परीक्षणकलामा सफल भएपछि उनीहरू खुसी भएका थिए । यस पटक आलुको सिजनमा सस्तोमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने गरी अहिले आलु भण्डारण गरिएको बेनी नगरपालिका–४, सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान्)ले जानकारी दिनुभयो ।
कोल्ड स्टोर बनेपछि जिल्लाका किसानहरूमा खुसीयाली छाएको छ भने गाउँ गाउँमा अझै किसानहरूसमक्ष सूचना पु¥याउनुपर्ने आवश्यकता रहेको वडाध्यक्ष खड्काले बताउनुभयो । उत्पादित कृषि उपजलाई कोल्ड स्टोरमा भण्डारण गर्नका लागि प्रतिकेजी १० रुपैयाँको दरले शुल्क तिर्नुपर्ने व्यवस्था छ । हाल कोल्ड स्टोरमा १० हजार केजी अर्थात् १० टन आलु भण्डारण गरिएको सिङ्गा कोल्ड स्टोरले जनाएको छ । कोल्ड स्टोरको क्षमता २० टन रहेको छ । कोल्ड स्टोरमा विद्युत् आपूर्तिसहित अन्य संरचनाहरू समेत आधुनिक भएकाले परीक्षण सफल भएसँगै यस पटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी र कृषक समूहका उत्पादन सुरक्षित गरिएको छ ।
कोल्ड स्टोर करिब एक करोड ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको थियो । किसानहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको कोल्ड स्टोरको क्षमता बढाउन तथा अन्य आवश्यक संरचनाहरू समेत निर्माणमा जोड दिइने बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बताउनुभयो । म्याग्दीमा सुन्तला र आलु उत्पादन धेरै हुने भएकाले सिजनबाहेक बेमौसममा पनि बिक्री, वितरण गर्न कोल्ड स्टोरले सहयोग पुगेको छ । कोल्ड स्टोरमा चार्जिङ स्टेसन पनि सञ्चालनको तयारी भइरहेको छ ।
कोल्ड स्टोरमा मौसमअनुसार आलु तथा किवीका साथै अन्य नगदे बालीलाई समेत भण्डारण गर्न सकिन्छ । सिजनमा कम मूल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसमी सिजनमा बिक्री गर्दा धेरै मूल्य पाइने तथा किसानलाई फाइदै फाइदा हुने भएकाले बेनी नगरपालिकाले कोल्ड स्टोरलाई वर्ष भरी नै प्रयोग गर्ने गरी आवश्यक तापक्रमलाई सन्तुलित बनाइराख्ने खालका उपकरण तथा संरचनाहरू जडान गरेको छ ।
जिल्लाका किसानहरूले फाइदा लिने गरी नमुनाको रूपमा कोल्ड स्टोर सञ्चालन गरिएको छ । सिजनमा व्यापारीलाई बारीबाटै फलफूल लगायतका विभिन्न कृषि उत्पादनहरू सस्तो मूल्यमा बिक्री गर्ने कार्यको अन्त्य गर्नका लागि पनि आगामी दिनमा बेनी नगरपालिकाले थप योजनाहरू ल्याउने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.