म्याग्दीमा बस दुर्घटना हुँदा चारजना घाइते 

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६, ठूलोबौरस्थित बेनी–जोमसोम–कोरला सडकखण्डमा आज साँझ बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बेनीदेखि गलेश्वरतर्फ जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुबाहक बस सडकको साइडमा ठोक्किएर पल्टिँदा बसमा सवार चालकसहित चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बस दुर्घटनामा परेर म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाका २८ वर्षीय धनकुमार बुढा र रघुगंगा–१, तिप्ल्याङका ३० वर्षीय रमेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । यसैगरी बसमा सवार तिप्ल्याङ्कै २८ वर्षीय रोशन पूर्जा र रघुगंगा–३, पिप्लेका २९ वर्षीय भूमिराज रानामगर पनि घाइते भएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । घाइते खड्का बसका चालक र बुढा सहचालक रहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेहरुको घुँडा, कुम, खुट्टा र टाउकोमा चोटपटक लागेको उपचारमा संलग्न बेनी अस्पतालका चिकित्सकले बताएका छन् । त्यस्तै घाइतेमध्ये पूर्जाको बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने सहचालक बुढा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । चालक खड्का र रानामगरको भने बेनी अस्पतालमै उपचार भैरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

बस दुर्घटनाको विषयमा भने अनुसन्धान जारीरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी, यातायात व्यवसायी र स्थानीयवासीद्वारा घाइतेहरुको उद्धार गरी बेनी अस्पताल लगिएको थियो । दुर्घटनामा परेर बीच सडकमा पल्टिएको बसलाई जेसिभी मेसिन र ट्रिपरको सहयोगमा साइड लगाएर राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.