सहिद, वेपत्ता योद्धा परिवारलाई सम्मान गर्ने ढोका खुल्यो: अध्यक्ष प्रचण्ड

कास्की- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै देश नयाँ ढङगले अगाडी बढेको बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको समापन समारोहलाई हिजो पोखरामा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले उक्त विधेयक पारित भएसँगै सहिद, वेपत्ता योद्धा परिवारलाई सम्मान एवम् परिपुरण गर्ने ढोका खुलेको औँल्याउनुभयो ।

अध्यक्ष प्रचण्डले विधेयकमार्फत जनयुद्धको समयमा सहादत प्राप्त गर्ने व्यक्तित्वहरु राष्ट्रिय सहिदको दर्जामा पुग्नुभएकोमा खुशी व्यक्त गर्नुहुँदै अब पार्टीको प्राथमिकता सङ्गठन निर्माण तथा विचारको विकास भएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले गरिब जनताको पक्षमा कार्य गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुहुँदै त्यसले नै समाजवादी क्रान्तिको आधार तयार गर्न निणर्यक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक तथा १२ बुँदे सहमतिको कार्यान्वयन पक्ष अन्तिम चरणमा पुगेको भन्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय विकसित परिस्थती अनुसार विचार, राजनीति, संगठन, जनसम्पर्क निर्माणमा होमिन नेता कार्यकर्तासमक्ष आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्नुहुँदै राष्ट्रिय स्वाधिनता र अहिलेका उपलब्धिको रक्षा अन्य पार्टीबाट सम्भव नरहेको दावी गर्नुभयो ।

“अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो”, उहाँले भन्नुभयो ।

परामर्श बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल र अग्नीप्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मा लगायतले आ–आफ्नो धारणा राख्नुभयो ।

यसैबीच अध्यक्ष प्रचण्डले पार्टी निकट गण्डकी प्रदेशका पत्रकार तथा इञ्जिनियरको टोलीसँग भेटघाट गर्नुहुँदै ती क्षेत्रमा रहेका समस्या समाधान गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

माओवादीले गत ३१ साउनमा सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारी सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार यतिवेला विभिन्न प्रदेशमा परामर्श बैठक गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.