दुई दिनदेखि बन्द बेनी–दरबाङ सडक खुल्यो, यातायात सुचारु

म्याग्दी– अविरल वर्षासँगै पहिरो खसेर दुई दिनदेखि बन्द भएको पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक आज बिहानदेखि खुलेको छ । बेनी नगरपालिका–४, तातोपानी र मङ्गला गाउँपालिका–२, सिमल चौरको सिमानामा पर्ने घुमाउने भीरमा सडकभन्दा माथिबाट खसेको पहिरो पन्छाएर सडक खुलाइएको हो ।
वर्षासँगै सडकमा खसेर थुप्रिएको ढुङ्गा, माटो र गेगरलाई जेसिभी मेसिनको सहयोगले हटाएपछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दर वाङ सडकमा वर्षासँगै पहिरो खसेपछि गएको शनिवार रातिदेखि नै सडक बन्द भएको थियो । पहिरोको अवरोध पन्छाएर सडक खुलेपछि अहिले यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
सडक खुलेसँगै पहिरोका कारण बिच सडकमा रोकिएका सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोले सडकमा यातायात सेवा बन्द हुँदा यात्रु तथा सर्वसाधारणलाई यात्रा गर्न जोखिम हुनुका साथै सिमल चौर–पखेर–मसार भएर घुमाउरो बाटोमा यात्रा गर्नुपर्ने सास्ती झेलेका थिए । कुल २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकको घुमाउने भीर खण्ड वर्षातको समयमा पटक पटक पहिरो खसेर बन्द हुँदै आएको छ ।
बेनी–दर वाङ सडक पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । यो सडकले पश्चिम म्याग्दीको मङ्गला–मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने काम गर्छ । म्याग्दीको पश्चिम भेगका तीन वटा पालिका हुँदै जलजला–ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी–दरबाङ सडक रणनीतिक महत्वको साथ अगाडि बढाइएको छ ।
छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरूले समेत बेनी–दर वाङ सडकको रुट प्रयोग गर्ने गर्दछन् । बागलुङ– बुर्तिबाङ भएर पूर्वी रुकुम जोड्ने मध्य पहाडी लोक मार्गको विकल्पको रूपमा छोटो दूरीमा पर्ने भएकाले म्याग्दीको बेनी–दरबाङ सडकलाई लिने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.