काँग्रेस र एमालेलाई प्रचण्डको आग्रह, बिचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआइदिनुहोला
काठमाडौँ- प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस एमालेले बिचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआउन आग्रह गर्नु भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दल अब सत्ताको खेलमा नलाग्ने भन्दै आफुहरु झगडा गरेर आफुलाई फुर्काउन नआउन आग्रह गर्नु भएको हो ।
माओवादीको ध्यान अब सत्तामा छैन, षड्यन्त्रको प्रतिरोधमा रहेको औँल्याउँदै उहाँले थप्नुभयो, ‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँ । पहिला पनि बनाएका हौँ, अब पनि बनाउनेछौँ । त्यतिबेलासम्म कृपया तपाईँहरू मिलिदिनुहोला । फेरि बिचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’ अध्यक्ष प्रचण्डले संवोधनको क्रममा भन्नु भयो ।
‘काङ्ग्रेस-एमालेका साथीलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईँहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन । माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिङ्ग र क्षेत्रको आन्दोलन’, उहाँले भन्नुभयो, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबिचमा कमजोरी भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए । त्यही कमजोरीमा खेलेर अब तपाईँ सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्ताबेज फेरि उल्टाउन थाल्नुभयो ।’‘अस्ति कांग्रेस–एमालेका नेताले संसदमा भनेको सुनेँ, माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गर्यो, धोका दियो । ए साथी हो, काँग्रेस र एमालेले पटक-पटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब खै ?’, उहाँले थप्नुभयो, ‘माओवादीले पटक-पटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पुर्याएको विगत खै ? माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हासिल गरेको हिसाब खै रु कसको सहयोगमा अघिल्लो पटक झन्डै दुई तिहाइको प्रधानमन्त्री हुनुभएको हो केपी ओलीजी ? कसले बनाएको हो, उहाँलाई पहिलो पटक प्रधानमन्त्री ?’
आज सिटका कुरा गर्ने तर हिजो प्रत्यक्षमा जम्मा २३ र समग्रमा ६३ सिट भएको नेपाली कांग्रेसले यही प्रचण्ड र माओवादीकै बलमा प्रधानमन्त्री पाएको होइन ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘धोकाको आरोप लगाउने साथीहरू, सुन्नोस् । इतिहासका विद्यार्थी पनि सुन्नोस् । यो देशको इतिहासमा सत्ताको वितरणको राजनीतिक सम्झौता केवल एक पटक मात्र पालना भएको छ, केवल एक पटक र केवल एक व्यक्तिले मात्र पालना गरेको छ । म यो सम्मानित रोस्टमबाट म गौरवसाथ भन्न सक्छु, त्यो व्यक्ति हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । मेरो चुनौती छ, यो संसदमा अरू कोही, कुनै, एकजना पनि हुनुहुन्छ, यो भन्न सक्ने ?’
प्रतिक्रिया राख्नुहोस्