‘एनटिभी वर्ल्ड’ को तयारी थाल्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिभिजनको नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’को तयारी थाल्न निर्देशन दिनु भएको छ । 

माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा नेपाल टेलिभिजन कर्मचारी युनियनले  टेलिभिजनमा आयोजनका गरेको आँखा शिविरको उद्‌घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले विश्वसामु नेपालको उपस्थिति र चिनारी थप बलियो बनाउन ‘एनटिभी वर्ल्ड च्यानल आवश्यक रहेको भन्दै त्यसको तयारी थाल्न उच्च ब्यवस्थापकलाई निर्देशन दिनु भएको हो । 

एनटिभी वर्ल्ड संचालन सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको उल्लेख गर्दै मन्त्री गुरुङ्गले सोही प्रकृतिका विश्वका अन्य च्यानलहरूको अध्ययन गर्दै ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ढिला नगर्न आग्रह गर्नु भयो । 

राज्य समस्या पर्दा सरकारले संचालन गरेका निकायहरूको नै महत्वपूर्ण भूमिका रहने भन्दै नेपाल टेलिभिजनले पनि त्यस अनुसार नै आफ्नो भूमिका र दायरा विस्तार गर्न आवश्यक रहेको मन्त्री गुरुङ्गको भनाइ थियो । 

”मन्त्रालयको तर्फबाट के कस्तो साथ सहयोग आवश्यक छ, त्यो गर्न मन्त्रालय तयार छ। नेतृत्वमा रहनु भएकाहरुले परिणाम आउनेगरी उत्तरदायित्व र जवाफदेहिता प्रस्तुत गर्नुपर्यो। प्रतिस्पर्धा, योग्यता समावेशितामा विश्वास गर्नु पर्यो ।  त्यसको मूल्याङ्कन नागरिक आफै गर्छन् । नतिजा आउनु पर्यो । टिप्पणीले नतिजा दिदैँन । काम हुनुपर्यो । मन्त्री गुरुङ्गले भन्नु भयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सचेतना र परोपकारी कार्यको प्रवर्द्धनमा राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा राज्यको मात्र नभएर नीजि क्षेत्रको पनि सहयोग आवश्यक हुने बताउदै माट्रिकाले परोपकारी सेवाबाट समेत आँखा उपचारमा गरेको सहयोग सह्रानीय रहेको बताउनुभयो ।

महाप्रवन्धक फूलमान वल तामाङले राज्यको आँखाकोरुपमा रहेको नेपाल टेलिभिजनले राज्यका प्राथमिकता प्रबर्द्धन गर्दै प्रविधि र विषयवस्तुमा आवश्यकता अनुसार समयानुकूल परिमार्जन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोज बहादुर विश्व कर्माले नेपाल टेलिभिजनको परिमार्जित विनियमावली छिटो लागू हुने वातावरण निर्माणका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा गर्नु भयो । अध्यक्ष विश्वकर्माले संस्थाको विनियम, बजेट र व्यापारमा मन्त्रालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

माट्रिका आई सेन्टरका मेडिकल डाईरेक्टर किरशोरराज प्रधानले संसारमै राम्रो सेवा दिने संस्थाकारुपमा माट्रिका स्थापित हुँदै गरेको बताउदै विपन्न वर्गलाई आँखा उपचारमा मानवीय सेवा समेत उपलव्ध गराईरहेको जानकारी दिनुभयो ।

नेपाल टेलिभिजनमा आयोजित आँखा शिविरमा धेरै जसोमा दृष्टी दोषको समस्या देखिएको माट्रिका आई सेन्टरका अध्यक्ष डा सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

टेलिभिजन पेशा र व्यवशायमा संलग्न जनशक्तिहरु धेरै भएकोले आँखाको दृष्टी कमजोर हुने दृष्टी दोषको समस्या पाईएको हो । आँखा विशेषज्ञहरु सहित ९ जनाको टोली संलग्न शिवरमा संस्थानका कर्मचारीहरुको आँखा जाँचका साथै निशुल्करुपमा औषधी र चस्मा वितरण गरियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.