राजस्व सङ्कलनको लक्ष्यलाई कर्मचारीको कार्यसम्पादन मुल्याङ्कनको आधार बनाइने

काठमाडौं- सरकारले राजस्व सङ्कलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको कार्य सम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार बनाउने भएको छ ।

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको आज बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य सहजै पुरा गर्न कर्मचारी मुल्यङकनको आधार बनाउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ । राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानुनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको दु:ख नपुग्नेतर्फ सजग रहने तर गैरकानूनी आर्थिक गतिविधि गर्ने कसैलाई पनि छुट नदिने निर्णय गरेको छ ।

राजस्व चुहावटलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूबीच प्रभावकारी रुपमा समन्वय गरी अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट गर्ने कसैले छुट नपाउने उल्लेख गर्दै एउटै व्यक्ति एउटै जिम्मेवारी र स्थानमा लामो समय रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई ब्रेक गर्ने गरी राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको पोष्टिङ गर्न निर्देशन दिनु भयो ।

अर्थमन्त्री पौडेलले सीमा नाकाहरूमा स्क्यानरसहितका आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानीलाई प्रभावकारी बनाउन, आयातित वस्तुको वर्गीकरण तथा मूल्याङ्कनलाई यथार्थपरक बनाउन, बजारमा बिलबिजक लिने-दिने कार्यलाई प्रोत्साहन गर्नुका साथै नक्कली बिजक वा फर्म खडा गरी हुनसक्ने राजस्व चुहावटप्रति निर्मम भएर अनुसन्धान गर्न निर्देशन दिनुभयो

।निष्ठा र दृढतकासाथ आफ्नो जिम्मेवारीमा अघि बढ्न निर्देशन दिँदै उहाँले अबदेखि राजस्व प्रशासन र सुरक्षाकर्मीका पाइलाहरु गुणात्मक रुपमा उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.