निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरेका छौँ – मन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समितिसँग आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राख्नुभयो  ।
“सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उहाँले भन्नुभयो, “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।”
सिङ्गापुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो ।
यसै अनुरुप यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ सञ्चालन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो ।
सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको मन्त्री गुरुङले बताउनुभयो । यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँको भनाइ थियो ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक (सम्पर्क केन्द्र) तोक्नुपर्नेलगायत सर्त पालना गर्नुपर्छ ।
मन्त्री गुरुङले टिकटक प्रतिनिधिलाई ‘पर्यटन प्रवर्द्धन’, ‘डिजिटल सेक्युरिट’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्नुपर्ने प्रस्तावमा सहमति भएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.