चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत- १२ स्थानमा खसेको पहिरो पन्छाउन नसक्दा चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गत बुधबार राती आएको अविरल वर्षापछि भीषण पहिरो पन्छाउन नसक्दा चार दिनदेखि जुम्ला, कालिकोट, मुगु जोड्ने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

वर्षासँगै आएको पहिरोले गगने खोला, एसमोड, मालाचौर, दहीखोला र किट्टुभीरलगायतका स्थानको बाटोसँगै पक्की पुल बगाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एसपी विनोद शर्माका अनुसार राजमार्ग बन्द हुँदा पहिरोमा फसेका सयौं यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । उहाँले पहिरो हटाउन नेपालगन्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइए पनि अझै दुई तीन दिन लाग्ने बताउनु भयो ।

सडक डिभिजन कार्यालय जुम्लाले जतिसक्दो छिटो क्षतिग्रस्त बाटो मर्मत गरी सञ्चालनमा ल्याउने तयारीमा जुटेको जनाएको छ । सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्जका लागि स्याउ बोकेका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिने अवस्थामा पुगेका व्यापारीको भनाइ छ ।

२ सय ३२ किमी लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हाल सम्म चार दर्जन भन्दा बढी पहिरो गएपनि यस वर्षको हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.