म्याग्दीमा खाद्यान्न बालीको उत्पादनमा वृद्धि 

म्याग्दी- एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा खाद्यान्न बालीको उत्पादन बढ्दै जान थालेको छ ।

 गएको आर्थिक वर्ष २०८०-०८१ मा अघिल्लो आव ०७९-८० को तुलनामा भन्दा खाद्यान्न बालीको उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

 गतवर्ष जिल्लाभर उत्पादित कुल खाद्यान्न बालीअनुसार ५० हजार ७ सय ५९ दशमलव ४६ मेट्रिक टन उत्पादन भएको छ । कुल १८ हजार १ सय ६६ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको खाद्यान्न बालीबाट सो परिमाणको खाद्यान्न उत्पादन भएको थियो । जसमध्ये प्रति हेक्टर २ दशमलव ७९ मेट्रिक टन उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । 

 गएको वर्षमा ३८ सय ६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १२ हजार ९ सय ७८ मेट्रिक टन उत्पादन भई ३ दशमलव ४१ प्रति हेक्टर मेट्रिक टन उत्पादकत्व भएको थियो ।

 यसैगरी गतवर्ष नै ९ हजार २ सय हेक्टर जमिनमा मकै खेती लगाइएकोमा कुल २८ हजार ५ सय २० मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार मकै खेतीमा भने प्रति हेक्टर ३ दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । 

 त्यस्तै गतवर्ष २३ सय १० हेक्टर क्षेत्रफलको जमिनमा गहुँ खेती गरिएकोमा ५ हजार ३ सय ३६ मेट्रिक टन उत्पादन भएको थियो भने २ दशमलव ३१ प्रति हेक्टर मेट्रिक टन उत्पादकत्व रहेको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो ।

 म्याग्दीमा परम्परागत खाद्यान्न बाली अन्तर्गत कोदो खेती पनि हुँदै आएको छ । गतवर्ष जम्मा २४ सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती लगाइएको थियो भने यसबाट जिल्लाभर ३४ सय मेट्रिक टन उत्पादन भई प्रति हेक्टरमा १ दशमलव ३९ मेट्रिक टन उत्पादकत्व रहेको थियो ।

यस्तै परम्परागत बालीतर्फ नै गतवर्ष १ सय ५० हेक्टरको जमिनमा फापरको खेती गरिएको थियो भने यसबाट जम्मा १ सय ६५ मेट्रिक टन उत्पादन भयो । 

 फापर खेतीमा भने १ दशमलव १० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व भएको तथ्याङ्कमा देखिन्छ ।

 गतवर्ष २ सय ५० हेक्टरमा जौ लगाइएकोमा ३ सय ६० मेट्रिक टन उत्पादन भएको थियो भने प्रति हेक्टर १ दशमलव ४४ मेट्रिक टन उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो ।

 अघिल्लो आवमा भने जिल्लाभर कुल ५० हजार ६ सय ७५ मेट्रिक टन खाद्यान्न बालीको उत्पादन भएको थियो । सो वर्ष कुल १८ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको थियो ।

 यसवर्ष प्रति २ दशमलव ७१ मेट्रिक टन उत्पादकत्व रहेको थियो । गत र अघिल्लो आवको तुलनामा आर्थिक वर्ष ०७८-७९ मा भने जिल्लाभर कुल ५६ हजार ७३ दशमलव ५८ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष जिल्लामा १९ हजार २ सय ६० हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको थियो ।

 खाद्यान्न बालीको उत्पादन घटबढ हुनुमा विशेष गरी मौसम प्रतिकुलताको कारण प्रत्यक्ष असर पर्ने देखिएको कृषि प्राविधिकहरू बताउँछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.