सञ्चार सम्बन्धी ऐन, कानुनको निर्माण र संशोधन उच्च प्राथमिकतामा: मन्त्री गुरुङ

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयले आवश्यक ऐन, कानुन निर्माण र संशोधनलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।  राष्ट्रिय समाचार समितिको २४ घण्टा समाचार सेवाको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले  केही ऐन सरकारका एक सय दिनभित्र सम्पादन गर्नेगरी काम भइरहेको स्पष्ट पार्नुभयो ।
“सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्नेसम्बन्धी विधेयक र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक भदौ मसान्त तथा दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्रसम्बन्धी विधेयक, डाटा सेन्टर सञ्चालन मापदण्ड र सरकारी इमेल सञ्चालनसम्बन्धी कार्यविधि असोज मसान्तसम्म तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्नेगरी काम थालनी गरिएको छ”, मन्त्री गुरुङले भन्नुभयो ।
सुरक्षित मुद्रणसम्बन्धी नियमावली स्वीकृतिका लागि यही भदौ मसान्तभित्र मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री गुरुङले हुम्लामा द्रूत गतिको इन्टरनेट सेवा पुयाइने बताउनुभयो । पुराना नीति नियममा टेकेर नयाँ काम गर्न नसकिने स्पष्ट पार्दै उहाँले ऐनकानुनलाई समयानुकूल बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । “पुराना हतियार बोकेर समयसापेक्ष सेवा देऊ भन्न मिल्दैन”, उहाँले भन्नुभयो ।
आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरेर पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री गुरुङले नीति बनाएरै यसलाई सम्बोधन गरिने बताउनुभयो । सार्वजनिक प्रसारण सेवा विधेयक समितिबाट अघि बढेको बताउनु हुँदै उहाँले मिडिया काउन्सिल विधेयकले पनि छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री गुरुङले पोखराको एक पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको स्पष्ट पार्नुभयो । सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने धारणा राखेकोसमेत उहाँले बताउनुभयो ।
सञ्चार सचिव राधिका अर्यालले सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गरी दूरदराजका नागरिकसम्म पहुँच पु¥याउन निर्देशन दिँदै आधिकारिता र विश्वसनीयता कायम गर्दै सेवा क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमित स्रोतसाधन र जनशक्तिबीच पनि सेवा विविधीकरण र २४ घण्टा समाचार प्रवाह गर्नु प्रंशसनीय रहेको बताउनुभयो । “सत्यतथ्य सूचना जस्ताका तस्तै नागरिकसमक्ष पुयाउनुहोस्”, सचिव अर्यालले भन्नुभयो, “नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्नुहोस् ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्ला समय आफूलाई समयानुकूल बनाउँदै लगेको राससले सञ्चारमाध्यमलाई सहजै समाचार उपलब्ध गराउन आफ्नो भूमिकालाई थप प्रखर बनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चारमाध्यमको दिगोपना र विज्ञापन बजार विस्तारमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव दिनुभयो ।
राससले आजदेखि औपचारिक रूपमा चौबिसै घण्टा समाचार सेवा प्रदान गर्न औपचारीक सुरु गरेको छ  । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ । आधिकारिक समाचार र सूचनाको मुहानका रूपमा रहेको राससले अन्तर्राष्ट्रिय समाचार समितिहरूले प्रदान गर्दै आएको सेवा र अभ्यास तथा स्वदेश तथा विदेशका आफ्ना सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी चौबिसै घण्टा सेवा प्रदान गर्न लागेको हो ।
स्थापनाकालमा दिनका एकपटक साँझ मात्र बुलेटिन प्रकाशन गर्ने राससले सेवाग्राहीको मागलाई मध्यनजर गरी केही समय बिहान, दिउँसो र राति गरी दिनको तीनपटक बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । त्यसपछि लामो समयसम्म बिहान, मध्याह्न, अपरान्ह, साँझ र राति गरी दिनको पाँचपटक बुलेटिन प्रकाशन गर्दै आएकामा समयको माग र प्रविधिको विकाससँगै २०६३ सालदेखि एक–एक घण्टाका दरले दिनमा १७ पटक समाचार प्रदान गर्दथ्यो ।
सुरुआतमा नेपाली भाषामा समाचार सेवा सञ्चालन गरेको राससले समयसापेक्ष रुपमा सेवाग्राही र आमजनताको मागबमोजिम २०२० फागुनदेखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय, २०५५ वैशाखदेखि आलेख, २०६४ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो, २०६६ फागुन ७ देखि अडियो, २०७९ साउनदेखि आलेख÷विचार र अन्तर्वार्ता हुँदै हाल श्रव्यदृश्य समाचार सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.