रेडक्रसको भूमिकालाई थप सशक्त बनाउन आवश्यक देखियो : मन्त्री शाह

सुर्खेत –  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले नेपाल रेडक्रस सोसाइटिको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रेडक्रस सोसाइटिको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहले समय सापेक्ष कर्णालीको आवश्यकतामा आधारित रेडक्रसको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनु भएको हो । उहाँले मानवताका लागि काम गर्ने रेडक्रसको भूमिका सर्वोपरि रहे पनि वर्तमान समाज रूपान्तरणको आवश्यकतालाई परिपूर्ति गर्न प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घाबहादुर पोखरेलले समाज उत्थानमा रेडक्रसको भूमिका सुरुदेखि नै प्रभावकारी रहेकाले आगामी दिनमा समेत सहकार्य तथा समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । उहाँले रक्तदाताहरूले रक्तदान गरेको रगतलाई अब सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बारेमा प्रदेश सरकारसँग छलफल गरिने जनाउनु भयो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सबैभन्दा ठुलो मानवीय संस्थाका रूपमा रहेको रेडक्रस सरकारको सहयोगी संस्थाको रूपमा रहेको बताउनु भयो ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले मानव सेवाका लागि सर्वोपरि रहेको रेडक्रससँग निजी क्षेत्र आफ्नो सामाजिक उत्तरदायित्वलाई सहकार्य तथा समन्वय गर्न सदैव तयार रहेको जनाउनु भयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवासकुमार शाक्यले रक्तदान गरेको रगत विभिन्न अस्पतालहरूले चर्को पैसा लिएर बिरामीलाई विक्री गर्ने कार्य सरकारले निःशुल्क उपलब्ध गराउने तर्फ पहल गर्न आग्रह गर्नु भयो ।

यता नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य रामलाल आचार्यले कर्णालीमा रेडक्रसद्वारा मानवताका लागि सञ्चालित विभिन्न सेवाहरूको थप स्तरोन्नति गर्न आवश्यक रहेकाले तीनै तहका सरकारहरूको आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको औँल्याउनु भयो । उहाँले आन्तरिक सशस्त्र सङ्घर्ष, प्राकृतिक विपत्ति वा शान्ति सबै परिस्थितिमा विगत ६२ वर्षदेखि क्रियाशील नेपाल रेडक्रसले धेरै कालखण्ड पूरा गरी अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । पारदर्शी, जबाफदेही, मितव्ययी र सक्षम संस्थाको रूपमा नेपाल रेडक्रस सोसाईटी लाई विकास गर्न सबैको सहयोग अपरिहार्य रहेको उहाँको भनाई थियो ।

‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाइएको स्थापना दिवसका अवसरमा आयोजित कविता प्रतियोगिताका विजयी प्रतियोगी, रक्तदान शिविर आयोजना गरी धेरै रक्त सङ्कलन गर्ने ३ वटा स्वयंसेवी संस्था तथा सेवा निवृत्त कार्यालय प्रमुख गोविन्दप्रसाद आचार्यलाई समेत पुरस्कार तथा सम्मान गर्नुका साथै १८ जनाको निःशुल्क मोतिया विन्दु अप्रेसन गरिएको रेडक्रस सुर्खेतका मन्त्री चेतनकुमार सुवेदीले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर  तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्त्वपूर्ण गतिविधि सञ्चालन गर्दै आएको मन्त्री सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.