सन्दर्भ निजामती सेवा दिवस: मुलुकको समृद्धि र सेवा प्रवाहमा निजामती प्रशासन

काठमाडौँ– ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइएको छ । २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । क्रमसङ्ख्याको हिसाबले यस वर्षको दिवस २१औँ निजामती सेवा दिवस हो । विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सरकारले यो ऐन जारी गरेको थियो । त्यसयताको ६७ वर्षको इतिहासमा निजामती प्रशासन सार्वजनिक प्रशासनको मूल आधारको रुपमा रहँदै आएको छ । लामो विगतको विरासतका रुपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रुपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरु रहेका छन् । अबको निजामती प्रशासनलाई प्रविधिमैत्री बनाइ सरल र सहज रुपमा सेवा प्रवाह गर्नुपर्नेछ । राज्यको नीति, योजना, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने प्रमुख संयन्त्रको रुपमा रहेको निजामती प्रशासन निष्पक्ष र जनउत्तरदायी हुनुपर्छ ।

सूचना र प्रविधिलाई उच्च रुपमा प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाहगर्नु नै निजामती प्रशासनको मुख्यध्येय रहनुपर्छ । निजामती प्रशासन स्थायी सरकार भएकाले कुनै राजनीतिक दबाब, प्रभावमा नपरी अनुसाशित भई देश र जनतालाई केन्द्रमा राखी कर्तव्यनिष्ठाबाट चुक्नु हुँदैन । नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सक्रिय सहभागिता जनाउँदै पनि आएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझ गहन रहेको छ । मुलुकमा उत्पन्न हुने विभिन्न प्राकृतिक विपद्का समयमा पनि राष्ट्रसेवकले सम्पादन गर्ने कामबाट जनताले पाउने सेवा अझ बढी अनुभूति गरेका हुन्छन् । निजामती कर्मचारीले सिर्जनशील भएर सेवा प्रवाह गर्न प्रविधिमैत्री भई यसको प्रयोग बढाउन र इमान्दारितापूर्वक काम गर्न सकेको अवस्थामा मात्रै देशको समृद्धि र जनताले सेवा पाउन सक्छन् ।
नयाँ संविधान जारी भएपश्चात मुलुक सङ्घीय संरचनामा रुपान्तरित भयो । नजिकको सरकारबाट सेवा सुविधा पाउने त भनियो तर समयमा मार्गदर्शक कानुन जारी हुन नसक्दा सेवामा संलग्न जनशक्ति अन्योलमा रहन पुगे । संविधान जारी भएको लामो समय वितिसक्दा पनि सङ्घीय निजामती सेवा ऐन नहुँदा निजामती सेवालाई प्रभावकारी बनाउन समस्या भइरहेको छ । ऐन अभावले कर्मचारी व्यवस्थापन, परिचालन र क्षमता अभिवृद्धिमा चुनौती भइरहेको छ ।आज सङ्घीय निजामती दिवस मनाइरहँदा ऐनको अभावमा निजामती सेवालाई चुस्त, प्रभावकारी र निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन समस्या परेको छ । स्थायी सरकारको रुपमा लिइने निजामती सेवालाई व्यवस्थित र परिचालन गर्ने सङ्घीय छाता ऐन नहुँदा प्रदेश निजामती सेवा ऐन पनि कार्यान्वयनमा कठिनाइ भइरहेको छ ।
संविधान जारी भएको लामो समयसम्म पनि सङ्घीय निजामती ऐन जारी हुन नसक्दछ निजामती सेवामा समस्या भइरहेको छ,ऐनको अभावमा कर्मचारी व्यवस्थापन, परिचालन र उनीहरुको क्षमता अभिवृद्धिमा चुनौती बढेको छ । निजामती सेवा ऐन समयमा नआएर धेरै अफ्ठ्यारो भइरहेको अवस्था छ । मुलुक सङघीयतामा गइसकेपछि संविधानको व्यवस्था अनुरुप सङ्घीय ऐनसँग बाझिएको खण्डमा प्रादेशिक ऐन वा स्थानीय ऐन स्वतः खारेजी हुनेछ भनिएको छ । प्रदेशमा निजामती सेवा ऐन बनेपनि सङ्घीय छाता ऐन नहुँदा त्यो कार्यान्वयन हुन सकिरहेको छैन । सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सङ्घीय संसद्मा पेस गरिसकेको छ ।

प्रतिनिधिसभामा दफाबार छलफल भएको उक्त विधेयक अहिले दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।निजामती सेवा नेपालको महत्वपूर्ण सेवा भएको र यो स्थायी सरकारको रुपमा रहेको भन्दै देश सञ्चालन गर्नको लागि चाहिने नीति निर्माण कार्यान्वयन र त्यसको अनुगमन, मूल्याङ्कन सबैमा यसको महत्वपूर्ण भूमिका रहन्छ । उपयुक्त कार्यमा निजामती कर्मचारीहरु विगतदेखिनै संलग्न भइरहका तथा राज्यका सम्पूर्ण निकायमा यसको पहुँच रहेको छ । सबै मन्त्रालयमा यसको प्रभाव छ । उदाहरणको रुपमा गृहमन्त्रालयमा माथिल्लो काम गर्ने कर्मचारी सबै निजामती सेवाबाटै आएका हुन्छन् । सैनिक सेवामा पनि समन्वयको काम निजामती कर्मचारीबाटै हुन्छ । शिक्षामा पनि मन्त्रालयमा समन्वय र सहकार्य गर्ने सबै निजामती सेवाकै कर्मचारी हुन्छन् ।

त्यस्तै अन्तर्राष्ट्रियस्तरमा पनि समन्वय र सहकार्यको काम निजामती सेवाका कर्मचारीबाटै हुने गरेको छ । भन्नुको मतलव देश निर्माणका लागि चाहिने नीति निर्माण बनाउने, संस्थागत विकास गर्ने तथा बनाइएका नीति नियमको परिपालना गर्ने गराउने र त्यसबाट कस्तो किसिमको परिणाम आयो त्यसको मूल्याङ्कन, अनुगमन गर्ने र पूर्ण समीक्षा गर्ने यो व्यवस्थापकीय पूरै चक्रमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहेको छ । अहिले पुरानो निजामती सेव ऐन २०४९ अनुसार निजामती प्रशासन सञ्चालनमा छ । उक्त ऐनअनुसार देश सङ्घीय गणतन्त्रातम व्यवस्थामा गइसकेपछि पुरानो ऐनको राम्रो पक्ष पनि अवलम्बन गर्न नसकिएको र नयाँ ऐन पनि नआएका कारण समस्या भएको छ । एउटा ऐनविहीन अवस्था भइसकेको छ । जसले गर्दा कर्मचारीको व्यवस्थापन गर्न, कर्मचारी परिचालन गर्न र उनीहरुको क्षमताअभिवृद्धि गर्न समस्या भइरहेको छ । निजामती ऐन ढिलो आउनुमा कुनै एउटा पक्षको कमीकमजोरी भन्दा पनि समष्टिगत रुपमा हेर्नुपर्ने हुन्छ । राजनीतिक अस्थिरताका कारण पनि निजामती सेवा ऐन समयमै आउन सकिरहेको छैन ।

यो राजनीतिक विषय पनि हो । निजामती सेवा ऐनको समयमै मस्यौदा तयार गरेर संसद् र संसदीय समितिमा पुगेको विधेयक अड्कियो । त्यहाँ राजनीतिक दलहरुबीच समझदारी नहुँदा विधेयकले गति लिनसकेको छैन । संसदीय समितिमा पनि धेरै संशोधनको धेरै कुरा आएको छ । तर, हामी आशावादी छौँ यो ऐन चाँडै प्रक्रियामा गएर पारित हुनेछ । वर्तमान सन्दर्भमा हाल रहेका राजनीतिक दलहरुबीच सशक्त र जुझारुखालको निजामती सेवा बनाउने गरी सङ्घीय निजामती ऐन जारी गर्ने कार्य गर्न सकेमा यस वर्षको निजामती सेवा दिवसको सार्थकता रहने देखिन्छ ।
स्थायी सरकारको रुपमा लिइने निजामती कर्मचारी कार्यअवधि नसकिदै चाँडो चाँडो सरुवा हुने परिपाटीले पनि कर्मचारी प्रशासनमा केही समस्या ल्याएको छ । कर्मचारीको समग्र व्यवस्थापन र परिचालनका लागि ऐन कानुनको महत्वपूर्ण भूमिका हुने गर्दछ । ऐनको अभावमा प्रशासनिक र व्यवस्थापकीय कार्य चुनौतीपूर्ण बन्दै गएको छ । ऐन नै नभएपछि कुन चिजलाई पालना गर्ने, त्यसैले जुन कार्यालयमा जसले नेतृत्व गरेको हुन्छ, उहाँहरुले गरेको निर्णलाई आधार मानेर जानुपर्ने बाध्यता छ । अहिलेको मुख्य समस्या ऐन नै नभएकाले कर्मचारीको व्यक्तिगत र मनोमानी रुपमा सरुवा गर्ने प्रवृत्ति बढिरहेको छ ।

पहिले यस्तो थिएन । निश्चित अवधि तोकिएको हुन्थ्यो, व्यवहारमा पनि लागू हुन्थ्यो यसको समाधान ऐन आएपछि नै हुन्छ । कर्मचारीचन्त्रमा पनि राम्रा र खराब मान्छे दुबै हुन्छन् । सर्वोत्कृष्ट कर्मचारीको मापदण्ड बनाएर तल्लो तहदेखि माथिल्लो स्तरसम्मका कर्मचारीमा पारदर्शी वातावरण बनाउन सकेको भए निश्चयनै नेपालमा धेरै उत्कृष्ट कर्मचारी छन् योग्य र सक्षम छन् । तर, मापदण्डको अभावमा अन्तिम समयमा निश्चित क्षेत्रमा खोजेर उत्कृष्ट कर्मचारी पाउन कठिन हुन्छ निजामती प्रशासनमा वित्तीय अनुशासनको कुरा पनि आउने गरेको छ । अख्तियार दुरुपुयोग अनुसन्धान आयोगको त्रासले कर्मचारीहरु निर्णय प्रक्रियामा डराउने प्रवृत्ति पनि पछिल्लो समय देखिएको छ । वित्तीय उत्तरदायित्वका लागि आर्थिक ऐन तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावली २०७६ को पालना गर्नु निजामती कर्मचारीको कर्तव्य हो । कर्मचारीमा चाँडो सरुवा हुँदा विषय विज्ञता र निर्णय क्षमताको पनि कमी हुन्छ । अर्कोकुरा कर्मचारीमा पनि सबै राम्रा छन् भन्न सकिन्न, केहीको अज्ञानता र गलत मनसायले पनि नकारात्मक आचरणमा लागेका हुन्छन् । त्यसैले ऐन कानुनको कसैले उल्लङ्घन गरेमा । निर्णय प्रक्रियामा आर्थिक ऐन विपरीत गएमा अख्तियारजस्ता नियमक निकायले अनुसन्धान र छानबिन गरेर कानुनी दायरामा ल्याउनुपर्ने विषय स्वभाविक हुन् । अन्त्यमा निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रबाट हुने व्यवहारले सुशाशन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ ।(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं
प्रवक्ता हुनुहुन्छ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.