इपीजी प्रतिवेदन बुझ्न भारतीय पक्षले समय मिलाउने प्रधानमन्त्री ओलीको विश्वास

विदेशमा बसेर आफ्ना देशका प्रमुखलाई विरोध गर्ने संस्कृति नेपाली संस्कृति होइन: प्रधानमन्त्री

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) प्रतिवेदन बुझ्न भारतीय पक्षले समय मिलाउने विश्वास व्यक्त गर्नु भएको छ ।

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन ः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नु भएको हो ।

”इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्र्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन ।”  प्रधानमन्त्रीले भन्नु भयो ।

प्रधानमन्त्री ओलील नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको स्मरण समेत गर्नुभयो ।

ईपीजीको प्रतिवेदनमा सीमा व्यवस्थापन, सन् १९५० को नेपाल-भारत मैत्री सन्धिको पुनरवलोकनसहित नेपाल-भारत सम्बन्धमा देखा परेका समग्र विषयबारे सुझावहरू समेटिएको बताइएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले गत सातामात्र भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले लेखेको पुस्तकको विमोचन  कार्यक्रममा प्रबुद्ध समूहको प्रतिवेदन “बुझ्नु राम्रो हुन्छ” भन्ने हिसाबले आफुले भारतसँग कुरा गरिरहेको बताउनु भएको थियो ।

फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“पहिला पहिलाका वैदेशिक सम्बन्धहरु बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धी सम्झौता अनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरुपमा प्रस्तुत गर्नुपर्छ । साझा स्रोतमा काम गर्दा एकपक्षीयरुपमा काम गर्नु हुँदैन । दुवै पक्षको सहमति र छलफलका आधरमा गरिनुपर्छ ।” सरकारले सुशासन, देश र जनतालाई केन्द्रमा राखेर सोचिरहेको बताउँदै उहाँले लोकतन्त्रका नाममा अराजकता हुन नहुने भनाइ राख्नुभयो ।

प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्ना देशका प्रमुखलाई विरोध गर्ने संस्कृति नेपाली संस्कृति नभएको बताउनु भयो । प्रधानमन्त्री ओलीले भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै  विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध गर्ने संस्कृति नेपाली संस्कृति नभएको स्पष्ट गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको बताउँदै प्रधाामन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र यसका आधारमा थप बहस गर्न सकिने बताउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै संविधानविद् डा विपिन अधिकारीले नेपालको जलसम्पदाको सही उपयोग गर्ने गरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.