पर्यटन बोर्डका सिइओ जोशीद्वारा पदभार ग्रहण

सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता

काठमाण्डौं –   नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले आइतबार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पद बहाली गर्नु भएको छ ।

पद बहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रम बोल्दै सिइओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले बोर्ड सार्वजनिक निजी साझेदारी -पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरूप काम गर्नु पर्नेमा जोड दिनुभयो ।“पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो । अर्कोतर्फ पर्यटन बोर्ड (पीपीपी) को मोडल हो ।

निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ । त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यकता हो । ” उहाँले भन्नु भयो ।

आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार , अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उहाँले समूह कार्यबाट ती सबै काम गर्न सकिने बताउनु भयो । उहाँले आफू कुनै पूर्वाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकारसाथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

सो अवसरमा बोल्दै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।

यस्तै कर्मचारी युनियनको तर्फबाट स्वागत गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले लामो समय देखि कर्मचारीको वृत्ति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका ती माग सम्बोधन हुने अपेक्षा गरिएको बताउनु भयो । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औँ बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम उहाँलाई ४ (चार) वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नवनियुक्त सिइओ जोशीले यसअघि पनि बोर्डको सिइओका रूपमा काम गरिसक्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.