नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित 

 नवलपुर-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटका स्थानीयले  साेमबार सडकमा चक्काजाम गरेका छन् । सडक विस्तार तथा मर्मतमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको र दिनहु हैरानी खेप्न परेकाे भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
गैँडाकोट २ पुलचोक नजिक इलाका प्रहरी कार्यालय गैँडाकोट अगाडि स्थानीयले करिब १ घण्टा चक्काजाम गरेका हुन् । उनीहरुले चाडपर्व नजिकिदाँ समेत सडक मर्मतमा कुनै चासो नदिएको उल्लेख गर्दै टायर बालेर समेत बिरोध गर्दै सडक अवरुद्ध गरेका थिए । छिटो काम गर्न दबाब दिनका लागि सडक अवरुद्ध गरिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले बिहान ११ बजेदेखि १ घण्टा चक्काजाम गरेका थिए ।
सडकमा हिँडने मात्रै नभई पसल बस्नेहरुलाई पनि असर गरिरहेकोले बाध्यताले चक्काजाम गर्नुपरेको गैडाकाेटका ब्यवसायी नारायण गाैडेलले  बताउनुभयो । लामो समयसम्म पनि व्यवसायीको अगाडी ठूला ठूला खाल्डो खनेर अलपत्र पारेको गाैडेलकाे भनाई छ।
सडककै कारण व्यापार पनि ठप्प भएको डेङ्गु जस्ता रोगव्याधी निम्त्याएकोले मर्मत गर्न दवाव दिन आन्दोलन गर्नुपरेको स्थानिय संजिव तिवारीले बताउनुभयो ।
निर्माण पक्षलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेका कारण सडकमा उत्रनु परेको गैँडाकोट नगरपालिका वडा नम्बर  २ का वडा अध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक निर्माण पक्षलाई बोलाएर छलफल गराउने आश्वासन दिएपछि अवरुद्ध सडक स्थानीयले खोलेका थिए ।
यसअघि गत वर्षको भदौ २० गते पनि यहाँ स्थानीयले चक्काजाम गरेका थिए । गैँडाकोटका अन्य क्षेत्रमा पनि सडक मर्मत तथा काममा भएको ढिलासुस्तीको विरोधमा स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् ।
सामान्य पानी पर्दा पनि यहाँ अन्य क्षेत्रको पानी समेत बगेर आउने भएकोले हिलाम्य हुने गरेको छ भने घाम लाग्दा धुलाम्य हुने गरेको छ । हिलो हुँदा पनि सडक मर्मत नगर्ने तथा घाम लाग्दा पानी समेत नहाल्ने गरेको स्थानीयले बताउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.