कोही किन गर्छ आत्महत्या ? रोकथामका लागि कसले के गर्ने ?
काठमाडौं- जन्मसँगै मानिसको मृत्यु पनि निश्चित छ । यो ध्रुवसत्य वास्तविकता एक प्राकृतिक नियम पनि हो । यो सुन्दर सृष्टिको नियमित र अपरिहार्य नियतिलाई अस्वीकार गर्दै व्यक्तिले जानाजान निराशाको चरम विन्दुमा पुगेर पीडक र पीडित आफैं रहि आफ्नो जीवन आफैंले समाप्त गर्नु नै आत्महत्या हो ।
संसारभर नै भएका अध्ययनअनुसार आत्महत्याको पछाडि कुनै एकमात्र ठोस कारण छैन । आत्महत्याको पछाडि एउटा व्यक्तिको मनोवैज्ञानिक अवस्था सिङ्गै उसको समाजिक, आर्थिक र व्यक्तिगत अवयवहरू पनि गाँसिएका हुन्छन् ।
फ्रेन्च समाजशास्त्री इमाईल दुर्खिमले सन् १८९७ मा प्रकाशित गरेको ‘आत्महत्या’ पुस्तकमा आत्महत्या बारे सूक्ष्म विश्लेषण गरेका छन् । पुस्तकमा दुर्खिमले प्रतिपादन गरेका आत्महत्याको समाजिक सिद्धान्त अनुसार कुनै एक व्यक्ति जति धेरै समाजिक रूपमा एकीकृत र जोडिएको छ उसले आत्महत्या गर्ने सम्भावना कम हुन्छ र समाजिक एकीकरण घट्दै जाँदा मानिसहरूले आत्महत्या गर्ने सम्भावना प्रबल रहन्छ भनेर प्रष्ट पारेका छन् ।
यसै सिद्धान्तलाई आत्मसात गर्दै आत्महत्यासँग सम्बन्धित विद्यमान समाजिक धारणा, विचार वा दृष्टिकोणलाई सकारात्मक तथा संवेदनशील रूपमा परिवर्तन गर्न विश्व स्वास्थ्य सङ्गठनले यस वर्ष “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२४ मनाउँदैछ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष ७ लाख ३ हजार मानिसले आत्महत्या गर्छन् । उक्त तथ्याङ्क अनुसार विश्वभर आत्महत्याका कारण मर्ने मानिसको सङ्ख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको सङ्ख्या भन्दा बढि रहेको देखिन्छ ।
यस अनुसार विश्वभरि नै प्रत्येक ४० सेकेन्डमा एक जना व्यक्तिले आत्महत्या गर्ने गरेको भयावह स्थिति देखिन्छ । नेपाल प्रहरीले हालसालै सार्वजनिक गरेको ” आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०८१” अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा मात्रै ७२२३ जनाले आत्महत्या गरेका छन् ।
उक्त प्रतिवेदन अनुसार नेपालमा हरेक दिन २० जनाको दरले आत्महत्या गर्ने गर्दछन् । यस तथ्याङ्कलाई आधार मानेर हेर्दा श्रीलङ्का पछि दक्षिण एसियाकै सबैभन्दा बढि आत्महत्या गर्ने देश नेपाल देखिन्छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको उक्त प्रतिवेदनलाई आधार मान्दा पछिल्लो एक दशकमा आत्महत्या गर्नेहरूको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको देखिन्छ। यी तथ्याङ्कले नेपाली समाज आत्महत्याको सन्दर्भमा विशेष जोखिममा रहेको स्पष्ट हुन्छ ।
आत्महत्या गरेका व्यक्ति र आत्महत्याको प्रयास गरेका व्यक्तिहरूमा गरिएको विभिन्न अध्ययनहरूले आत्महत्या गर्ने व्यक्तिहरूले केही न केही पूर्व सङ्केतहरू गर्दछन् भन्ने देखाएको छ ।
आत्महत्या गरेका व्यक्तिहरू वा आत्महत्याका सोच बनाएका व्यक्तिहरू आत्महत्याको प्रयास गर्नु एक वा दुई साताअघि मनोचिकित्सक वा मनोपरामर्शदातासँग सम्पर्क गर्ने गरेको अध्ययनहरूले देखाएको छ ।
आत्महत्याको योजना बनाएका व्यक्तिहरू निकै निराश हुने, दुःखी कुरा गर्ने, संसार नै सकिए जस्तो मान्ने गर्छन । सामान्यतया आफू अरु माथि बोझ भएको कुरा गर्ने, एकदमै चिन्तित देखिने, आफूलाई असह्य पीडा भएको बारे कुरा गर्ने, अचानक अत्याधिक मादक पदार्थको सेवन गर्न थाल्ने, धेरै कम वा धेरै सुत्ने, आत्महत्याका विभिन्न तरिकाहरू खोज्ने जस्ता गतिविधिहरू आत्महत्या जोखिमको सङ्केत हुन सक्छन् ।
आत्महत्या गर्न चाहनेले त्यसबारे अलि बढि चासो राखेर इन्टरनेटमा खोजीनीति गर्ने गरेको समेत विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएको छ । आत्महत्याको योजना बनाएका व्यक्तिहरू पहिले ज्यादै दुखी र निराश देखिए पनि आत्महत्याको योजना बनाइसकेपछि धेरै खुशी देखिने समेत केही अध्ययनहरूले देखाएको छ । तसर्थ निराशावादी कुरा गर्ने व्यक्तिहरूलाई साथीभाइ, घरपरिवारले अलि बढी निगरानी राख्नु जरुरी छ ।
त्यस्ता व्यक्तिहरूलाई यथाशीघ्र मनोचिकित्सक वा मनोपरामर्शदातामा लिएर गई उचित समाधान खोज्न तर्फ लाग्नुपर्दछ । आत्महत्याको जोखिममा रहेका त्यस्ता व्यक्तिहरूलाई अर्ती उपदेश दिनु वा सल्लाह दिनुको साटो उनीहरूमाथि गुज्रिरहेको मानसिक अवस्थाको पहिचान गर्नु अत्यावश्यक हुन्छ ।
त्यस्ता व्यक्तिहरूको मनको आवाजलाई घरपरिवारका सदस्य, साथीभाइमै, इष्टमित्रले बिना कुनै पूर्वाग्रह सुन्ने बानी बसालेमा आत्महत्याको जोखिमलाई हदैसम्म न्यूनीकरण गर्न सकिन्छ ।
आत्महत्याको प्रयास गरेका विभिन्न उमेर समुहका व्यक्तिमाथि गरिएको अनुसन्धानले देखाए अनुसार कुनै पनि व्यक्ति मानसिक एवं मनोवैज्ञानिक रुपमा कमजोर हुँदै निराशाको चरम विन्दुमा पुगिरहँदासम्मको स्थितिमा उनीहरू आफ्नो जीवन समाप्त गर्न नभई आफ्नो असह्य पीडा समाप्त गर्ने बाटो नै खोजिरहेका हुन्छन् ।
आफू वरिपरिको मान्छेहरूबाट साथ, सहयोग पाउने आशा गरिरहेका हुन्छन् । तर मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई गरिने विभेद र हेरिने लाञ्छनाको दृष्टिकोण भएको सामाजिक चिन्तनका कारण उनीहरू आफ्नो समस्यालाई खुलेर आफ्नो घरपरिवार, साथीभाइ माझ अभिव्यक्त गर्न सक्दैनन् । जसका कारण उनीहरू उपचार प्रक्रियामा खुलेर आउन र समाजका गतिविधिहरूमा सहभागी हुन सकिरहेका छैनन् । भित्रभित्रै कुण्ठित भएर बस्छन् ।
यसर्थ, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेरिने समग्र समाजिक मनोविज्ञानलाई नै परिवर्तन गर्ने अपरिहार्य छ । यसका लागि सरकार र सरोकारवाला सङ्घ संस्थाहरूलाई मानसिक स्वास्थ्य र आत्महत्याको मुद्दामा ध्यान केन्द्रित गराई यस विषयसँग जोडिएको कलङ्क, लान्छना र विभेद हटाउनका लागि चेतना जागृत गराउने खालका कार्यक्रमलाई केन्द्र, प्रदेश र स्थानीय तहका आममानिसमा पहुँच हुने गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्न अविलम्ब जरुरी छ ।
पाटन मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. लता गौतमका अनुसार दैनिक ८ देखि १० जना मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुले मनोपरामर्शको क्रममा आफूलाई आत्महत्या गर्न मन लागेको कुरा गर्ने बताउँछन् ।
उहाँको अनुसार आत्महत्याको जोखिम न्यूनीकरणका लागि मनोचिकित्सक वा मनोपरामर्शकर्ता मात्र नभएर समग्र समुदाय, घरपरिवार, इष्टमित्र नै अग्रसर हुनुपर्छ । तसर्थ आफ्ना वरिपरिका साथीभाइ, इष्टमित्र, छिमेकी केहीपनि मानसिक समस्याबाट गुज्रिरहेका छन् भने कुनै पनि पूर्वाग्रह नराखी गोपनीयता कायम राखेर उनीहरूको कुरालाई ध्यान दिएर सुन्नुपर्छ र समयमै मनोसामाजिक सहायता प्रदान गर्नुपर्छ ।
उनीहरू सँगसँगै भएको महसुस गराउनुपर्छ । उनीहरूको आनिबानिप्रति सचेत रहेर उनिहरुलाई जोखिमयुक्त सामाग्री तथा साधनहरुको पहुँचबाट टाढा राख्नुपर्छ । अन्य मानिसलाई जस्तै उनिहरुलाई पनि सम्मानजनक व्यवहार गर्नुपर्छ । उनिहरुको अन्तरमनको आवाजलाई बुझ्ने कोसिस गर्नुपर्छ ।
समस्या निकै जटिल भएको खण्डमा नेपाल सरकारको अगुवाईमा सुरु भएको ११६६ नम्बरको निशुल्क हेल्पलाइन नम्बरमा सम्पर्क गर्नुपर्छ । यथाशीघ्र मनोपरामर्शदाता वा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।
घर परिवार र समाज सचेत भएर व्यक्तिको भावनालाई बुझी बिना पूर्वाग्रह सुन्ने र सहयोग पुर्याउने गरे वर्षेनी बढ्दै गएको आत्महत्याको दरलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसर्थ आत्महत्यासँग सम्बन्धित धारणा, विचार वा दृष्टिकोणलाई सकारात्मक तथ संवेदनशील रुपमा परिवर्तन गर्न जरुरी छ ।
प्रतिक्रिया राख्नुहोस्