पोर्चुगलमा घुम्ती सेवा

पोर्चुगल-  पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय ६८ सेवाग्राहीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा लिएका हुन् ।

घुम्ती सेवाबाट दुई हजार चार सय ४८ प्रहरी चारित्रिक प्रमाणपत्र, १६ शैक्षिक प्रमाणपत्र, २० व्यक्तिगत घटना दर्ता, दुई यात्रा अनुमतिपत्र र एक मञ्जुरीनामाको प्रमाणीकरण गरी दुई हजार चार सय ६८ जनालाई सेवा प्रदान गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो ।

शिविरबाट दुई लाख ४६ हजार छ सय ४० युरो अर्थात् रु तीन करोड ६७ लाख नौ हजार नौ सय राजस्व सङ्कलन भएको राजदूत भट्टराईले राससलाई बताउनुभयो ।

घुम्ती सेवामा दूतावासका नियोग उपप्रमुख सीता बस्नेत र तृतीय सचिव दिपेन्द्रप्रसाद साह खटिनुभएको थियो । दूतावासको टोलीले अगष्ट ३० देखि सेप्टेम्बर ७ सम्म गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयबाट कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

घुम्ती सेवामार्फत कन्सुलर सेवा पाउँदा प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट० लगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ । घुम्ती सेवा सम्पन्न भए पनि पोर्चुगलका नेपालीको सहजताका लागि कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा भने पेरिस दूतावासबाट निरन्तर प्रवाह हुने राजदूत भट्टराईले बताउनुभयो । आगामी दिनमा पनि राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्या देखा परेको खण्डमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि पुनः घुम्ती टोलीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

यसअघि पोर्चुगलमा रहेका नेपालीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा नपाउँदा सास्ती खेप्नुपरेको समाचार राससमार्फत् संप्रेषण भएको थियो ।

गत महिना पनि राहदानी विभाग काठमाडाँैं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.