धनकुटाबाट ३६ अर्ब ३५ करोड बढीको तरकारी तथा फलफूल निकासी

धनकुटा-  धनकुटा जिल्लाबाट गत आर्थिक वर्षमा ३६ अर्ब ३५ करोड ६३ लाख ८३ हजार छ सय ४० रुपैयाँको तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको छ।

धनकुटाको सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी, खाद्यान्न, फलफूल, नगदे बाली र मसला बाली खेती हुने गरेको र सोही क्षेत्रबाट निकासी भएको छ।

गत वर्ष धनकुटाबाट सबैभन्दा नगदे बाली ३१ अर्ब ५४ करोड ६४ लाख ४९ हजार ७ सय रुपैयाँको ६ हजार ५ सय ७६ दशमलव ६७ मेट्रिक टन निकासी भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

यस्तै २ अर्ब ३९ करोड ११ लाख ३६ हजार रुपैयाँको ७७ हजार ४ सय २२ दशमलव ८५ मेट्रिक टन खाद्यान्न, १ अर्ब ६४ करोड ४० लाख २३ हजार २ सय रुपैयाँको ५४ हजार ९ सय ८० मेट्रिक टन तरकारी, ५४ करोड ५७ लाख ३० हजार ९ सय ६० रुपैयाँको २ हजार ७ सय ६३ दशमलव ३६ मेट्रिक टन मसला बाली र २२ करोड ९० लाख ४३ हजार ७ सय ८० रुपैयाँको २ हजार २ सय ६५ दशमलव ९३मेट्रिक टन फलफूल निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा उत्पादित तरकारी तथा खाद्यान्न तराइका जिल्लाका विभिन्न बजार हुँदै भारत, भुटान बङ्गलादेशसम्म निकासी हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले बताउनु भयो।

धनकुटामा विशेष गरेर तरकारी उत्पादन हुने छ। धनकुटाको छथर जोरपाटी गाउँपालिका तथा महालक्ष्मी नगरपालिकामा तरकारी जोन कार्यक्रम सञ्चालनमा रहेको छ।

यो बाहेक धनकुटा नगरपालिका र पख्रिबास नगरपालिकाको केही क्षेत्रमा तरकारी उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ। कृषकलाई बजारको समस्या केही मात्रामा भए पनि धेरैजसो समय कृषकको खेतबारीमै पुगेर व्यापारीहरूले सामान खरिद गर्ने गरेका छन्।

अझ कृषकलाई आधुनिक उपकरणको सहयोग स्थानीय तह र कृषि ज्ञान केन्द्रले गरेका कारण कृषकलाई सहज पनि भएको छ। तर, बेलामा मल बिउ नपाउँदा भने समस्या हुने गरेको किसानको गुनासो छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.