लुम्बिनी प्रदेश सभामा पेस भयो प्रतिवेदन सहितको स्थानीय सेवा गठनको विधेयक

दाङ–लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस गर्नु भएको हो । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औँ बैठकमा समितिका सभापति बुढाले प्रतिवेदन सहितको विधेयक पेस गर्नु भयो ।

भदौ ६ गते बसेको प्रदेश सभाको २७ औँ बैठकले प्रतिवेदन सहित पेस भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथि पुनः छलफल गरेर बुधवारको बैठकमा पेस गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदन सहितको विधेयक तयार पार्न ३६ औँ बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेस गरिएको समितिका सभापति बुढाले जानकारी दिनुभयो ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी बनाउन भूमिका खेल्ने गरी विधेयक तयार भएको सभापतिको भनाई छ ।

बुधवार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेस गर्नु भयो । बैठकमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्दै सरकारको सभाको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.