प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र खेलकुद विकास परिषद् सदस्य सचिव नियुक्त

बागमती प्रदेश-  बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोकका डा.गङ्गादत्त नेपाललाई नियुक्त गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बुधवार साँझ बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले लामो समयदेखि रिक्त आयोगको उपाध्यक्ष पदमा जलवायु परिवर्तनका विज्ञ नेपाललाई नियुक्त गरेको हो । आयोगको सदस्यहरूमा काभ्रेका गुणराज मोक्तान र काठमाडौँका डा.दीपेन्द्र श्रेष्ठलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा उसु खेलाडी नुवाकोटका दीपक लामालाई नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव र युवा तथा खेलकुद मन्त्रालयको सहमतिमा लामालाई सदस्य सचिव नियुक्त गरिएको हो । प्रदेश खेलकुद विकास ऐन २०७५ अनुसार सदस्य सचिवको कार्यकाल ५ वर्षको रहनेछ  । मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्लाई खेलकुद मन्त्रालय मातहत ल्याउने गरी ऐन संशोधन गर्ने तयारी समेत गरेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

यसै गरी आजको मन्त्रिपरिषद् बैठकले पेरिस प्यारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेसा गोवर्द्धनलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने तयारी गरेको पनि मन्त्री लामिछानेले बताउनुभयो ।  बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दरबन्दी स्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.