सुडे पुतलीले सखाप बनाउँदै सिन्धुलीको जुनार

सिन्धुली- सिन्धुलीको जुनारमा सुडे  पुतलीको समस्या भएको छ । सुडे पुतलीले फलमा बसेर रस चुस्ने र फल कुहाउने समस्या भएको किसानहरूले जनाएका छन् । जुनारमा गुलियो रस भरिँदै गर्दा सुडे पुतलीले जुनारनै सखाप पार्न थालेपछि किसानलाई चिन्ता थपिएको छ ।

जुनार बगैँचामा रातीको समयमा सुडे पुतली आई गुलियो रस भरिँदै गरेको जुनार चुस्ने र पुतलीले चुसेपछि जुनार झर्ने समस्या भएको किसानहरूले बताएका छन् । सुँडे पुतली नियन्त्रणका लागि कुनै ठोस औषधि नहुँदा किसानहरू रातीको समयमा पुतली समाएर मार्नका लागि जुटेका छन् ।

विशेषसरि  रातको समयमा फलमा आएर पुतली बस्नुका साथै फलको रस चुस्ने र फल नै झर्ने भएकाले जुनार किसानहरू चिन्तित बनेका हुन्  । सुडे पुतली नियन्त्रणका लागि जुनार बगैँचाका किसानहरू रातको समयमा जुनार बगैँचा कुर्ने र जुनारमा आएर बसेको सुँडे पुतली समाई मार्ने काममा लागेको कमलामाई नगरपालिका ३ चपौलीका किसान जुद्ध राईले जानकारी दिनुभयो ।

जुनार उपभोग गर्न योग्य समय आउनै लाग्दा सिन्धुलीका जुनार बगैँचामा सुडे पुतलीले सखाप पार्न थालेपछि जुनार क्षेत्रमा काम गर्ने प्राविधिकहरू समेत रातको समयमा पुतली समाउन जुनारको बोटमा पुग्न थालेका छन् । पुतली अँध्यारोमा जुनारको फलमा आउने भएकाले रातको समयमा निगरानी गरी किसान र प्राविधिक भएर पुतली समाउने काममा लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सिन्धुलीका प्रमुख वरिष्ठ कृषि अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जुनारमा सुडे पुतली देखिएपछि कृषकसँगै प्राविधिक सहित भएर रातीको समयमा पुतली समाउने गरिएको उहाँको भनाई छ ।  सुडे पुतलीको नियन्त्रणका लागि कुनै ठोस उपाय देखिएको छैन, उहाँले भन्नुभयो, यसको उपाय भनेकै समातेर मार्ने हो ।  सुडे पुतली  न्यूनीकरणका लागि लिसोको पासोमा पार्ने, रातमा समाउने र मार्ने तथा बोटमा नेट झुलको प्रयोग गर्ने, लाइटको व्यवस्था गर्ने तथा अन्य अम्बा केरा जस्ता फलफूल देखाएर आकर्षित गरी समाउन अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । राती बत्ती बालेपछि पुतली नभाग्ने भएकाले समाउन सकिने प्राविधिकहरूको भनाई छ ।

जुनार उत्पादन हुने मुख्य क्षेत्रमै यसको प्रकोप बढेको किसानहरू बत्ताउँछन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका, कमलामाई नगरपालिका, सुनकोसी गाउँपालिका र तीन पाटन गाउँपालिकाका केही वडामा जुनारको व्यावसायिक खेती हुँदै आएको छ । सुडे पुतलीका कारण  कतिपय बोटहरू फल झरेर खाली हुँदै गएपछि किसान चिन्तित भएका हुन् । कार्तिकको अन्तिम साताबाट उपभोग गर्न योग्य हुने जुनारमा गुलियो रस पस्न सुरु हुने समयमै पुतलीले सखाप पार्न थालेको छ ।

लामो समय फलफूल जातको रोग किरा नियन्त्रणमा काम गरिरहनुभएका वरिष्ठ कृषि विकास अधिकृत डाक्टर देवराज अधिकारी पुतली नियन्त्रण गर्न किसान स्वयम् सक्रिय हुनुपर्ने बताउनु हुन्छ ।

जुनार तथा सुन्तला जातका फलफूलहरूमा पाक्न लागेको समयमा रातीमा आएर सुडे पुतलीले चुस्ने समस्या छ, उहाँले भन्नुभयो, जीवनचक्र अनुसार विचार गरी नियन्त्रणमा जुट्नुपर्ने हुन्छ, खास गरी वयस्क अवस्थामा फलफूलमा क्षति गर्न त्यसैले त्यसलाई नियन्त्रण गर्न लहरे वनस्पतिहरूमा फुल पार्ने र पछि लार्भा अवस्था सृजना गर्ने भएकाले त्यस्ता स्थानको पहिचान हुनुपर्ने बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.