पोखरा र लुम्बिनीमा सिधा हवाई सेवा सञ्चालन गर्न भारतसँग पर्यटनमन्त्री पाण्डेको आग्रह

काठमाडौँ- भारत भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा सो विषयमा छलफल गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चालनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गर्नुभएको थियो ।

उहाँले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरेपछि अहिले ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

यसैबिच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँदिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

सो क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबिचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.