प्रधानमन्त्री ओली र खानेपानीमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग खानेपानीमन्त्री प्रदीप यादवले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो ।

मन्त्री यादवका अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजना तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो ।

कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो एक सय दिन (२०८१ कात्तिक ६ सम्म), दोस्रो सय दिन (२०८१ माघ १७ सम्म) र आर्थिक वर्षको बाँकी अवधि यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताउनुभयो ।

पहिलो एक सय दिनको अवधिमा मनसुनका कारण अवरुद्ध मेलम्ची खानेपानी आयोजनालाई पुनःसञ्चालनमा ल्याउने, न्युरोड–ठमेल क्षेत्रमा थप ३० किलोमिटर पाइप लाइन विस्तार गर्ने, निर्माणाधीन कीर्तिपुर र महाँकालचौरका पानी पोखरीको निर्माण सम्पन्न गर्ने, धोबीघाट फोहर पानी प्रशोधन केन्द्रलाई दैनिक तीन करोड ७० लाख लिटर क्षमतासहित सञ्चालन गर्ने कार्य सम्पन्न गरिनेछन् ।

यसका साथै भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता गरी आयोजनाको निर्माणकार्य सुरु गर्ने र जाइकाको अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनालाई पनि अगाडि बढाइनेछ ।

दोस्रो एक सय दिनमा काठमाडौँ उपत्यकाभित्रका ढुङ्गेधारा, इनार, पोखरी संरक्षण गर्ने, वर्षाको पानी सङ्कलन तथा पुनःभरणका कार्य सञ्चालन गर्ने योजना रहेको छ । यस चरणमा नेपाल खानेपानी संस्थानबाट थप चार हजार घरमा खानेपानी प्रणाली सुधार तथा विस्तार गरिनेछ ।

सहरी खानेपानी आयोजनाअन्तर्गत छवटा आयोजनाको समापन गरिनेछ । आर्थिक वर्षको बाँकी अवधिमा नगर क्षेत्रका थप चार हजार घरमा खानेपानी प्रणाली सुधार गरिनेछ ।

साथै, दमक र विदुर ढल आयोजनाको निर्माण सम्पन्न गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका थप परम्परागत पानीका स्रोतको संरक्षण, वर्षाको पानी सङ्कलन तथा पुनःभरणको काम गरिनेछ । सल्लाघारी, कोड्कु र धोबीघाट ढल प्रशोधन केन्द्रको डिजाइन र निर्माणकार्य अगाडि बढाइनेछ ।

मन्त्री यादवले खानेपानी मन्त्रालयका ठूला परियोजनाले जनताको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । सम्झौता राष्ट्रिय लक्ष्य हासिल गर्न सशक्त आधार रहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “यो सम्झौता केवल कागजी प्रक्रियामा सीमित नरही जनताको जीवनमा सुधार ल्याउनेगरी कार्यान्वयनमा ल्याइनेछ ।

खानेपानी पहुँच र गुणस्तरको क्षेत्रमा देखिएका चुनौती समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ र निर्धारित समयमा काम पूरा गरेर जनतालाई सेवा प्रवाहमा सहजता ल्याउनेछ ।”

सम्झौताअनुसार तोकिएका काम समयमा पूरा गर्न मन्त्रालयले नियमित अनुगमन गर्ने, जनतालाई प्रत्यक्ष लाभ पुर्याउने योजना र परियोजनाको प्रगति समय–समयमा सार्वजनिक पनि गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.