प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भन्नुभयो- जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा चलेको दशवर्षे जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएको बताउनुभएको छ ।

आजदेखि प्रसारण हुनलागेको विसं २०५२ देखि २०६२ सम्म चलेको जनयुद्धका घटनामा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उहाँहरूले लाखौँ जनता सहभागी भएको जनयुद्धको आवश्यकता र महत्त्व युगौँसम्म चर्चा भइरहने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताउनुभयो ।

“पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौँलाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छभने त्यो माओवादी जनयुद्ध नै हो”, उहाँले भन्नुभयो, “लाखौँ जनताले यसमा भागमात्र लिएनन्, वर्षौँदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ ।”

कतिपय शक्तिहरूले लाखौँ जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्नेगरी बहस गर्न खोजिएकोप्रति अध्यक्ष दाहालले असहमति जनाउनुभयो । उहाँले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताउनुभयो ।

“कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौँ भनेको पनि सुन्छु”, उहाँले प्रश्न गर्नुभयो, “हामी मूलधारमा आयौँ कि हामीले मूलधार सिर्जना गर्यौँ ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौँ । अन्य दलहरू हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आउनुभएको हो ।”

इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र विद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौँ जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेसपाका अध्यक्ष डा भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुगौली सन्धिअघिको राज्य विस्तारका क्रममा टिस्टाबाट काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौँ जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो । यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तह र तप्काका जनताले भाग लिए ।”

जनयुद्धकै कारण आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्याङ्कन नहुने बताउनुभयो ।

“बच्चा जन्मँदा सालनालसहित जन्मन्छ, पखालेर सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुसीयाली हो”, उहाँले भन्नुभयो, “माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुसी नै जनयुद्धको मूल पक्ष हो ।”

कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठले टेलिशृङ्खला ‘राधाकृष्ण’ले जनयुद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रबार साँझ प्रसारण हुने जानकारी दिनुभयो । कार्यक्रममा हास्यकलाकार जितु नेपाललगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.