कारागारमा क्षमता भन्दा ६३ बढी कैदी–बन्दी

खोटाङ –  जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदी–बन्दी भएपछि समस्या भएको छ । ३३ महिला र ६६ जना पुरुष गरी ९९ जना क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला कैदी–बन्दी भएपछि समस्या उत्पन्न भएको हो ।

हाल कैदी–बन्दीलाई खान, बस्न तथा सुत्न समस्या भएको छ । यस्तै, कारागारले तय गरेको अन्य सुविधामा समेत समस्या भएको कैदी बन्दीले बताएका छन् । कारागारमा कैदी–बन्दी बढी भएपछि अहिले सञ्चालनमा रहेको तान ग्यारेज अर्थात् कैदी–बन्दीलाई टोपी लगायत बुनाइका काम गर्ने स्थानमा पुरुष कैदी बन्दी राख्ने तयारी गरिएको जेलर सोमप्रसाद आचार्यले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेपछि कारागारमा कैदी बन्दीको सङ्ख्या वृद्धि भएको हो । प्रहरीले आर्थिक वर्ष २०८०र८१ मा विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको थियो ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । फरार प्रतिवादी पक्राउ अभियानका लागि जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जनाउनुभयो ।।

शान्ति–सुरक्षा कायम राख्न प्रहरीले बढाएको सक्रियताप्रति जिल्लावासी सन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.