निजी क्षेत्र प्रवद्र्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छः अध्यक्ष ढकाल
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको वताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गर्नुभयो ।
नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उहाँले भन्नुभयो, सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ ।
ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताउनुभयो । उहाँले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने वताउनुभयो ।
ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराउनुभयो । यसैगरि उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।
भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको वताउनुभयो । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उहाँले वताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्