पनौती नगरपालिका बालश्रममुक्त घोषणा

काभ्रे  – पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषित भएको छ । शनिवार, राष्ट्रिय बाल दिवसको अवसरमा बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सि लामा तामाङले ‘बालश्रममुक्त नगरपालिका’ भएको घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्दै नगरलाई बालश्रममुक्त घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बालबालिकाको हक अधिकार र बाल अधिकार संरक्षण गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले पनौतीलाई बालश्रममुक्त नगर घोषणा गरिएकोमा शुभकामना व्यक्त गर्दै यसको दिगोपनाका लागि निरन्तर कार्यक्रम गर्नको लागि आग्रह गर्नुभयो ।

बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादेले बालबालिकाको सुनौलो भविष्य र बाल अधिकार संरक्षणका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेर नगरपालिकाका १२ वटा वडालाई विभिन्न मितिमा बालश्रममुक्त घोषणा गरिएपश्चात् नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गरिएको पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले बताउनुभयो ।

मुख्यमन्त्री लामासहित बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादे, तीर्थ लामा, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, नमोबद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका सबै वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलगायत कर्मचारी, सरोकारवाला लगायतले त्यसको दिगोपनाको लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
नगरपालिकाले सङ्घीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधि २०८० तयार गरी अन्तर्राष्ट्रिय श्रम सङ्गठन ( आइएलओ ) को सहकार्यमा सो अनुरूप विभिन्न गतिविधि सञ्चालन गरेको थियो । कार्यक्रममा बालश्रममुक्त घोषणा गर्न योगदान पुर्‍याउने विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.