नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

बाँके- इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बनेको छ ।

बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् ।

इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।

“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।”

मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि -याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिनुभयो । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव -यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.