राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं – राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

.
राष्ट्रियसभाको चालु चौथो अधिवेशन सोमवार(आज) राति १२ बजेदेखि अन्त्य हुने भएको हो । आजको बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो । सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो(आइतबार) राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र सङ्घीय सांसदलाई पठाउनुभएको थियो । राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै अध्यक्ष दाहालले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

यस अवधिमा ४० वटा बैठक बसी जम्मा ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतीत भएको अध्यक्ष दाहालले बताउनु भयो । यस अधिवेशन अवधिमा १७ वटा बैठकमा शून्य समय रहेको, उक्त शून्य समयमा ४४ जना सदस्यहरूले २ घण्टा ०२ मिनेट समय उपयोग गर्नुभएको बताउनु भयो । १६ वटा बैठकमा विशेष समय रहेको र विशेष समयमा ५२ जना सदस्यहरूले २१ घण्टा ५६ मिनेट समय उपयोग गर्नुभएको बताउनु भयो । यस अधिवेशनका १ वटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो ।

यस अधिवेशन अवधिमा राष्ट्रिय सभामा दर्ता भएका मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा  ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१, तिल गङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई पारित गरी प्रतिनिधि सभामा पठाएको बताउनु भयो ।

चालु अधिवेशनमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको थियो । सोही अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ दुवै सभाबाट पारित भई प्रमाणीकरण समेत भएको बताउनु भयो । उहाँले यसै अधिवेशन अवधिमा नेपाल विश्वविद्यालय विधेयक२०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको र अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक,  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९,  विनियोजन विधेयक, २०८१, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१दुवै सभाबाट पारित भई प्रमाणीकरण भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.