मुस्ताङमा उत्पादित स्याउ आजबाट टिप्न सुरु, बजारमा आउँदै

म्याग्दी– हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ आजबाट टिपेर बजार पठाउन सुरु भएको छ । पाँच वटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले टिपेर बजारमा पठाउने तयारी थालेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

मुस्ताङका किसानहरूले लगाएको रोयल डेलिसियस , रेड डेलिसियस , गोल्डेन डेलिसियस र फुजीलगायत प्रजातिका स्याउ टिपेर बजार पठाउन सुरु भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । उहाँका अनुसार गएको भदौ पहिलो साता जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा सम्पन्न सरोकारवालाको वैठकले स्याउ टिप्ने समय तालिका बनाएको थियो ।

सोही तालिका बमोजिम अहिले असोज महिना लागेपछि रोयल, रेड र गोल्डे न डेलिसियस लगायत प्रजातिका स्याउ टिप्न सुरु गरिएको छ । सरोकारवालाको बैठकले मुस्ताङमा उत्पादित छिटो पाक्ने गाला प्रजातिको स्याउ भदौ १० र किङरोट रेड डेलिसियस प्रजातिको स्याउ भदौ १५ गतेपछि टिप्ने निर्णय गरेको थियो भने अन्य प्रजातिका स्याउ असोज लागेपछि मात्रै टिपेर बजार पठाउने निर्णय भएको थियो । छिटो पाकेका स्याउ भने टिपेर यसअघि नै बजार पठाइसकिएको छ ।

मुस्ताङको स्याउ उपयुक्त समयमा टिप्यो भने निकै स्वादिलो र गुणस्तरीय हुन्छ । समय पुगेको स्याउले उपभोक्ताहरूमा पनि ख्याति कमाउने तथा किसानहरूले समेत राम्रो मूल्य पाउने भएकाले स्याउ टिप्नका लागि समय निर्धारण गरिएको सरोकारवालाहरू बताउँछन् । मुस्ताङमा १४ सय ७५ हेक्टर क्षेत्रफलको जमिनमा स्याउ खेती गरिएकोमा ५ सय ८० हेक्टरको स्याउले उत्पादन दिँदै आएको छ । गत वर्ष मुस्ताङमा ४ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अनुकूल मौसम, बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तारलगायत कारणले विगत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि प्राविधिकहरू बताउँछन् ।
मुस्ताङमा सबैभन्दा राम्रो स्याउ फल्ने मार्फा र टुकुचेलाई मानिन्छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँच वटै वडा, थासाङको टुकुचे , बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनी, मुक्तिनाथ, झोङ , छुसाङ र चेलै स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको केही वडा र लोमान्थाङ गाउँपालिकामा समेत पछिल्लो समय स्याउ खेती हुन थालेको छ । मुस्ताङमा गोल्डे न, रोयल र रेड डेलिसियस , रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको इटालियन प्रजातिको स्याउ समेत लगाइएको छ ।

मुस्ताङमा उत्पादित स्याउ पाकेपछि व्यापारीहरू खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । स्थानीय किसानले व्यापारीहरूलाई स्याउको बगैँचा नै बिक्री गर्ने गर्दछन् । आफ्नो ८ रोपनी जग्गामा लगाएको स्याउ पाकेपछि टिपेर बिक्री गर्ने तयारी गरिएको जोमसोमका स्याउ उत्पादक किसान छिरिङ गुरुङले जानकारी दिनुभयो । मुस्ताङको स्याउ म्याग्दीको सदरमुकाम बेनी बजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौँ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ ।

समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्विन्टलसम्म स्याउ उत्पादन गर्न सकिने किसानको अनुभव छ । मुस्ताङका किसानहरूले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी , स्लाईडर जस्ता परिकारहरू बनाएर बिक्री गर्ने गरेका छन् । मुस्ताङमा उत्पादित स्याउ स्वदेशी र विदेशी बजारमा खुब रुचाउने गरिन्छ ।

अहिले त्यही मुस्ताङको स्याउ बजार जानका लागि तयारी अवस्थामा पुगेको छ । मुस्ताङको स्याउ भनेपछि उपभोक्ताहरू पनि हुरुक्कै हुन्छन् । यति बेला मुस्ताङको बगैँचामा लटरम्मै स्याउ फलेर बोटहरू फतक्क नुगेका छन् । मुस्ताङको मार्फालाई स्याउको राजधानी समेत भनेर चिनिन्छ । केही समय पहिले ‘क्या राम्रो स्याउ बारी मार्फा गाबैमा…’ भन्ने बोलको गीतले समेत निकै चर्चा कमाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.