जनकपुरको गङ्गा सागरमा पितृ तर्पण गर्नेहरूको भीड

जनकपुरधाम – आजबाट पितृ पक्ष सुरु भएको छ । पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरूलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ । पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो ।

चाडपर्व यज्ञादि तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो ।

आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ । पिता स्वर्गीय भएकाहरू यस पर्वमा कुश, तिल, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । स्वर्गीय भइसकेका पूर्वजलाई तर्पण दिनाले आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ ।

शास्त्रीय रूपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने जनविश्वास समेत छ । पितृ पक्षका बेलामा पितृ लोकबाट दिवङ्गत पितृहरू पिण्ड, पानीको आसले मृत्यु लोकमा झर्छन् भनी हेमाद्रि, वीरमित्रोदय , निर्णय सिन्धु लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

पितृ तर्पणका लागि जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा तर्पण गर्नेहरूको ठुलो भीड नै लाग्ने गर्छ । पहिलो दिन कुश तिल जौ फुली, काँक्रो, द्रव्य हातमा लिएर ऋषि मुनिप्रति श्रद्धा प्रकट गरेर तर्पण गरिन्छ । जसलाई अगस्त तर्पण भन्ने गरिन्छ । अगस्त तर्पण गरेको भोली पल्टदेखि पूर्वज दिवङ्गत भएको तिथि अनुसार श्राद्ध गर्ने परम्परा रहेको छ ।

हिन्दुहरूको सबैभन्दा ठुलो पर्व दसैँ, दीपावली तथा छठ पर्व गर्नु अगाडी दिवङ्गत पितृहरूलाई स्मरण तर्पण, पिण्ड दान गर्ने मिथिलामा परम्परा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.