‘विद्यालय शिक्षा विधेयक जसरी पनि आउँछ’

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सवका अवसरमा शिक्षाविद्, शिक्षाकर्मी र शिक्षा पत्रकार सम्मानित र पुरस्कृत गर्नुभएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षाविद् प्रा डा वासुदेव काफ्ले, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, सिन्धुलीको गणेश माविका व्यवस्थापन समितिका अध्यक्ष विमला विश्वकर्मा, कैलालीको कलम बल मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल, युवराज बम, आसमान नेपालका सञ्चालक सदस्य रेखा यादवलाई सम्मानित गरियो ।

यसैगरी रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका शिक्षा पत्रकार सूर्यप्रसाद पाण्डेलाई प्रदान गरियो । सो अवसरमा शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक, २०८१ छिटो ल्याउन पहल भइरहेको, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ कार्यान्वयको प्रक्रिया सुरु भएको र शिक्षक दरबन्दी मिलानसम्बन्धी कार्यदल गठनको तयारीमा रहेको जानकारी दिनुभयो ।

“कुनै आशङ्का गरिरहनु आवश्यक छैन, विद्यालय शिक्षा विधेयक जसरी पनि आउँछ । यसका लागि हामी संसदीय समितिमा नियमित छलफलमा रहेका छौँ”, मन्त्री भट्टराईले भन्नुभयो, “सिंहदरबारबाट गाउँ र टोलटोलमा पुगेको शिक्षालाई गुणस्तरीय तुल्याउन पाठ्यक्रम, परीक्षा र मूल्याङ्कनमा सुधार गर्न हामीले कार्ययोजना बनाइसकेका छौँ ।”

समाजको अध्यक्षमा सापकोटा

यसैबीच, शिक्षा पत्रकार समाजको आजै सम्पन्न दोस्रो अधिवेशनबाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकार देवीप्रसाद सापकोटाका अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा मतिना त्वानावसु, महासचिवमा श्याम तण्डुकार, उपमहासचिवमा बालमुकुन्द आचार्य, सचिवमा लक्ष्मीप्रसाद ढकाल, कोषाध्यक्षमा यशोदा अधिकारी चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा सुरेश यादव, सुनील आचार्य, विपिन पोखरेल, शर्मिला विश्वकर्मा, रमेश लामिछाने र पुष्पा अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रामहरि सिलवालले घोषणा गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष सापकोटालाई निवर्तमान अध्यक्ष प्रकाश सिलवालले कार्यभार हस्तान्तरण गर्नुभएको थियो । सभाको बन्दसत्रले साङ्गठनिक र आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।

सभामा संस्थापक महासचिव शेषकान्त पण्डितको गत माघ १७ गते क्यान्सरका कारण भएको दुःखद् निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.