सर्वसाधारणका लागि खुल्यो धरहरा

काठमाडौं – भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सर्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो । यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो । सोही अनुसार तत्कालका लागि निःशुल्क रूपमा धरहरामा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा सर्वसाधारणले धरहराको अवलोकन गर्न पाउनेछन् । तत्कालका लागि निःशुल्क धरहरा अवलोकन गर्न पाउने व्यवस्था गरिएको सहरी विकास तथा भवन निर्माण विभागका अधिकृत वीरसिंह भण्डारीले जानकारी दिनुभयो । उहाँले धरहरा हेर्नेहरूको घुइँचो लागेकाले व्यवस्थापनको काममा चाप परेको पनि बताउनु भयो । धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी मात्रै भए पनि हुनेछ ।

विभागका अधिकृत भण्डारीले भन्नुभयो, धरहरा घुम्नका लागि कागजातहरू नबोके पनि हुन्छ । मोबाइलमा फोटा खिचेर ल्याउनु । कुनै न कुनै आइडी । नागरिकता वा पासपोर्टको, भोटर आइडी वा लाइसेन्स जुन भए पनि हुन्छ । तर हार्ड कपी नै बोक्नुपर्छ भन्ने छैन । फोटो कपी खिचेर ल्याए भयो । अहिले तत्काललाई आइपि ए ड्रेस छ । त्यसमा लगइन गर्ने, भर्ने । त्यो भरेमनि क्युआर जेनरेट हुन्छ । त्यो हाम्रो कर्मचारीलाई देखाउनु भयो भने त्यो उहाँहरुले रिड गर्नुहुन्छ । त्यसै आधारमा अहिले तत्काललाई निःशुल्क घुम्ने व्यवस्था मिलाइएको छ । आजबाट सुरु भयो । अहिलेलाई निःशुल्क छ । त्यसको व्यवस्थापन पछि होला । 

सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण विभागका अनुसार धरहरा चढ्न प्रि–टिकट बुकिङको व्यवस्था गर्ने भने पनि तत्कालका लागि धरहरा स्थलमै गएर टिकट लिनुपर्नेछ । यसैबिच सर्वसाधारणले पनि धरहराको पुनर्निर्माण भएको खुसी व्यक्त गरेका छन् । उनीहरूले त्यहाँको प्रवेशका लागि सहज वातावरण निर्माण गरिदिन पनि व्यवस्थापन पक्षसँग अनुरोध गरे । धरहरा चढ्न पुगेका सर्वसाधारणले देशको गहनाको रूपमा रहेको धरहरा पुनर्निर्माणमा केही ढिलो भएको पनि प्रतिक्रिया दिए ।

२०७२ सालको विनाशकारी भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ । सो धरहरा अपाङ्गतामैत्री भएकाले उनीहरूलाई पनि चढ्न सहज र सजिलो हुने अपेक्षा गरिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा पुन निर्माणको काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी सुरु भएको थियो । आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैङ्क र सुनधारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो । जसका कारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा बिस्तार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.