स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न जोड दिइएको छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न सरकारले जोड दिएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले स्टार्टअप र नवप्रवर्द्धनका लागि इकोसिस्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको उपप्रधानमन्त्री पौडेलको दाबी थियो ।

आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच बिस्तार गर्न आवश्यक एवं अपरिहार्य भएको उल्लेख गर्दै उहाँले त्यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरू प्राप्त हुँदै आएको समेत बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले वित्तीय क्षेत्रको विकासका लागि वित्तीय पहुँच अभिवृद्धि, नवीन वित्तीय उपकरणको प्रयोग, बचत तथा कर्जा बिस्तार, वित्तीय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नवीन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने कुरामा म जोड दिन चाहन्छु । यस मान्यता अनुरूप सरकारले स्टार्ट अप र नवप्रवर्द्धनका लागि इकोसिस्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको छ । यसै वर्षको बजेटमार्फत रु. एक अर्बको नेपाल स्टार्ट अप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । सुरक्षण सेवाका कारण आज ठूलो सङ्ख्यामा साना व्यवसायीहरू स्थापित हुन पुगेको तथा बचत गर्ने संस्कारको विकास भई पुँजी परिचालन गर्न सहयोग पुगेको तथ्य हामी सबैको सामु छर्लङ्ग छ । सुरक्षणको प्रबन्धबिना यो सम्भव हुने थिएन ।

आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच विस्तार गर्न आवश्यक एवं अपरिहार्य हुन्छ । पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सावाँ ब्याज फिर्ता हुने सुनिश्चितताका लागि कर्जा सुरक्षणको संस्थागत विकास गरी सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरू प्राप्त हुँदै आएका छन् । वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्त्व हुन्छ । कुनै कारणले बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षतिबाट संरक्षण गर्न तथा वित्तीय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी यसलाई थप विश्वसनीय बनाउन कोषको भूमिका महत्त्वपूर्ण हुन्छ । वित्तीय क्षेत्रको विकासका लागि वित्तीय पहुँच अभिवृद्धि, नवीन वित्तीय उपकरणको प्रयोग, बचत तथा कर्जा बिस्तार, वित्तीय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी छ । ’

उपप्रधानमन्त्री पौडेलले बचतकर्ताको बचतलाई उत्पादन वृद्धिका लागि उपयोग गर्ने कुरामा पनि सरकार योजनाबद्ध ढङ्गले लागि परेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.