गोरखामा गण्डकी प्रदेशस्तरीय न्यायिक भेला आज सम्पन्न हुँदै

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक क्षेत्रमा रहेको केन्द्रिकृत मानसिकताका कारण संघीयता कार्यान्वयनमा समस्या परेको बताउनुभएको छ ।

गोरखामा शुक्रवारबाट शुरु भएको गण्डकी प्रदेशस्तरीय प्रथम न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक र प्रशासनिक क्षेत्रको उच्च तहमै पनि केन्द्रिकृत मानसिकता रहेको बताउनुभयो ।

‘राजनीतिक र प्रशासनिक क्षेत्रको उच्च तहमा यस्तो मानसिकताले घर गरिरहेसम्म हामीले चाहेको जस्तो संघीयता कार्यान्वयन हुन गाह्रो छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

प्रदेशका ८५ पालिकाका न्यायिक समिति संयोजक सहित सहभागी भेलामा बोल्दै मुख्यमन्त्री पाण्डेले संघले समयमा कानून बनाउन नसक्दा प्रदेश र स्थानीय सरकारको काममा समेत वाधा परिरहेको बताउनुभयो ।

कानून बनाउने मुख्य जिम्मेवारी रहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाकै साँसदहरुले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने गरेकोमा मुख्यमन्त्री पाण्डेले तीब्र आक्रोश ब्यक्त गर्नुभयो । ‘आफू बस्छ संघमा, आवश्यक कानून बनाउन सक्दैन तर भाषण गर्दै हिँड्छ प्रदेशको औचित्य के ? भन्दै’ पाण्डेले थप्नुभयो, ‘यस्ता नालायकहरुलाई म भन्न चाहन्छु, पहिले कानून बनाएर दिनुहोस् अनि गरेन भने गरेन भन्नुहोस् ।’

पालिकाहरुलाई न्याय सम्पादनमा परेको समस्या समाधानका लागि प्रदेश सरकारले सबै पालिकामा न्यायिक सहजकर्ता नियुक्त गरेर पठाउन लागेको मुयमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

संविधान दिवस २०८१ को अवसर पारेर गोरखा नगरपालिका अन्तर्गतको न्यायीक समितिको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र मुख्य न्यायधिवक्ताको कार्यालयको समन्वयमा न्यायीक भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको शुक्रवार भएको उद्घाटनसत्रमा बोल्दै गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले पनि प्रदेश र स्थानीय सरकारलाई आवश्यक कानूनको अभाव खड्किएको बताउनुभयो ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका कायममुकायम प्रमुख सचिव रघुराम विष्ट, प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा, प्रदेशसभाका साँसदहरुलगायतले स्थानीय सरकार र न्यायिक समितिको भूमीकाका विषयमा आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो ।

भेला अन्तर्गत आज न्यायीक समितिको कार्यका विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम हुनेछ । गोरखा घोषणापत्र जारी गर्दै आजै भेला सकिने आयोजक गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.