महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।

उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो ।

क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ”, उहाँले भन्नुभयो, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।”

म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका छवटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् ।

अप्राविधिकतर्फको प्रशासन सहायक (पाँचौँ) र खरिदार (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो ।

तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताउनुभयो । उहाँले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.