नेपालमा सातदेखि १० प्रतिशत मानिसमा अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौँ – आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले नेपालमा ६० वर्षभन्दा माथिका करिब सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित रहेको बताउनुभयो । उहाँले अल्जाइमरको सङ्ख्या यकिन भए पनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने गरेको बताउनुभयो ।

जनचेतनाका कमीले अल्जाइमर रोगको प्रकोप बढिरहेको र समयमा उपचार गर्न सके यस रोगलाई कम गर्न सकिने निर्देशक निरौलाको भनाइ छ । “समयमा नै रोग पहिचान गरेर कडा खालको बिर्सने रोगको लक्षणलाई अलि ढिला बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “तर बिरामीले उपचार नगर्दा कडा खालको लक्षण चाँडै देखिने गरेको छ ।”

नेपालमा ६० वर्षमाथि उमेरका व्यक्तिमा यस रोगको समस्या देखिने गरे पनि आजकाल ४० देखि ४५ वर्ष उमेर समूहमा समेत समस्या देखिने गरेको निर्देशक निरौलाले बताउनुभयो ।

लक्षण

अल्जाइमर रोग डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने, भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने र क्रमशः पुराना कुराहरू पनि बिर्संदै जाने हुन्छ र साथै एउटै कुरालाई बारबार दोहो¥याउने, ध्यान केन्द्रित गर्न समस्या हुने जस्ता लक्षणहरु देखा गर्ने गरेका चिकित्सकहरू बताउँछन् । पछि गएर उल्लिखित लक्षणहरू क्रमशः कडा रूपमा बढ्दै गइ दैनिक जीवनयापन नै कठिन हुन जान्छ ।

रोगको प्रमुख कारण बढ्दो उमेर भए पनि श्रवण शक्तिमा कमी, नसर्ने रोग ९उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह०, मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्वको कमी मदिरा र धुम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता जस्ता कारणले पनि हुने गर्दछ ।

महाशाखा प्रमुख निरौला रोग रोकथामको उपाय भनेको नै जोखिमहरू कम गर्नु रहेको बताउनुहुन्छ । उहाँकानुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसङ्ख्या १० प्रतिशत रहेको छ र बुढ्यौली जनसङख्याको वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार, हाल विश्वभर पाँच करोड ५० लाख मानिसहरू डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामीहरू थपिन्छन् र यो सङ्ख्या सन् २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ ।

सरकारले अल्जाइमर रोगलाई सम्बोधन गर्नका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत अल्जाइमर रोगका लागि रु एक लाखसम्म सुविधा प्रदान गर्दै आइरहेको छ । यस रोगको उपचारका लागि देशभरि १२ वटा अस्पताल सूचीकृत छन् । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले ज्येष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाइमर्स डिस अर्डरलगायत विस्मृति तथा अन्य मानसिक समस्याको शीघ्र पहिचान र व्यवस्थापन गरी सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको महाशाखा प्रमुख निरौलाले जानकारी दिनुभयो ।

उहाँले अल्जाइमरसँगै डिमेन्सिया रोगको रोकथाम र जोखिम कम गर्न, उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो । निरौलाले यी रोग भएका बिरामीलाई सामाजिक कार्यमा लगाउनुपर्ने, मस्तिष्कलाई क्रियाशील बनाउनुपर्ने र पर्याप्त मात्रामा फलफूल खुवाउनुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.