मौरी किसानका समस्या अध्ययन गर्न समिति गठन
काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न समिति गठन गर्नुभएको छ ।
मन्त्रालयमा सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन गर्नुभएको हो ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुनेगरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह उत्पादक किसानको समस्या तत्काल समाधान गर्न जरुरी रहेको बताउनुभयो । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताउनुभयो ।
मह उत्पादक किसानले हाल मौज्दात रहेको दुई हजार १०० मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग गरेका छन् ।
मह आयात रोके पनि सिरपका रुपमा यस्को आयात भइरहेको भन्दै किसानले आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकारसमक्ष राखेका छन् ।
प्रतिक्रिया राख्नुहोस्