संसदीय सुनुवाई समितिको बैठक स्थगित
काठमाडौँ– संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ ।
सोमवार श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।
यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रश्तावित राजदुतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रश्तावित राजदुत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । यसअघि आईतवारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृत÷अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ ।
आज (सोमवार) बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताउनु भयो । दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उहाँले आजको बैठक स्थगित भएको र मंगलवार बिहान ९ बजे बस्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज हाम्रो सुनुवाई समितिको बैठक स्थगित गरिएको छ । भोलि ९ बजे बस्नेछ । केही थप कागजातहरु पनि हामीलाई आवश्यकता भएको र थप छलफल पनि आवश्यक भएकाले समितिका सबै मान्य सदस्यहरुज्युहरुले भन्नुभयो ।’
गत बैठकमा समितिले श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताउनु भयो । सरकारले राजदुतमा सिफारिस गरेको (भोलि) मंगलवार ४५ दिन पुग्ने भएकाले भोलि नै राजदुत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुंगो लगाउनेछ ।
प्रतिक्रिया राख्नुहोस्