जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अङ्कित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनु भयो । उहाँले रेस्टुरेन्टले पानीमा अङ्कित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताउनु भयो । उहाँले रेस्टुरेन्टले अब पनि अङ्कित मूल्य भन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जिम्बु थकाली रेस्टुरेन्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो । के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौँ । हामी रेस्टुरेन्टमा आयौँ । पानी मागिएको थिएन । पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खायौँ । एक बोतल पानीको अङ्कित मूल्य ३५ रुपैयाँ छ । ३५ रुपैयाँ अङ्कित मूल्य भएको पानीलाई ३५ रुपैयाँ लिनुभएको रहेछ । कुनै पनि उपभोक्तालाई लेभल गरिएको हुन्छ । त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन । खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो । बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ । वाणिज्य विभागको प्रमुख ठगीमा परे । यो एउटा उदाहरण मात्रै हो । उहाँहरूले विल लिनुपर्छ । विल लिएर विभागमा उजुरी गरे कानुन अनुसार कारबाही गर्छौँ । चाडपर्व लक्षित बजारमा ७ वटा टोली खटाएका छौँ । भोलिदेखि अझ बढी टोली परिचालन गर्छौँ । उहाँलाई अहिले ३ लाख रुपैयाँ जरिवाना गर्नुभएको छ । उहाँहरूले अब मूल्य भन्दा बढी मूल्यमा कुनै पनि सामान बेच्न पाउनुहुन्न । फेरि पनि त्यो गरेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्छौँ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रेष्टुरेण्टलाई अङ्कित मूल्य भन्दा बढी मूल्यको आधारमा ३ लाख रुपैयाँ जरिवाना गरेका हौँ ।’

उहाँले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताउनु भयो । उहाँले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताउनु भयो । काठमाडौँ उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.