राज्य बलियो हुन राज्यका निकायहरु बलियो बन्न जरुरी छ: संचारमन्त्री
काठमाडौँ- संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रता र सूचनाको हकलाई सुनिश्चित गर्दै पत्रकारिता पेशालाई मर्यादित बनाउन आवश्यक ऐन कानूनहरुको निर्माण गरिने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा भएको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक लागु हुने चरणमा रहेको बताउदै संचार र सूचना प्रविधिसंग सम्बन्धित कानूनहरुलाई समयानुकूल हुने गरी एकवर्षभित्र निर्माण गरिने बताउनुभयो ।
सञ्चार मन्त्री गुरुङले नेपालका पूर्वाधारहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बन्न बाँकी रहेको बताउनुहुदै राज्य बलियो हुन राज्यका निकायहरु बलियो बन्न जरुरी छ भन्नुभयो । उहाँले पत्रकारिता पेशा आफैमा जोखिमपूर्ण रहेको बताउदै संकटमा पनि सूचना प्रवाह गर्ने पत्रकारिता क्षेत्रको विकासमा राज्य लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले यसवर्षको हेमसुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एनटिभी कोहलपुरका पत्रकारद्वय दुर्गाकुमारी भट्ट र विपिन श्रीवास्तव तथा कान्तिपुर टेलिभिजनका पत्रकारहरु होम कार्की, श्याम श्रेष्ठ र प्रकाशचन्द्र तिमिल्सेनालाई सम्मानित गर्नुभयो ।
युद्धग्रस्त इजरायलमा पुगेर त्यहाँको स्थलगत रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनको टोली र दार्चुला जिल्लाको विकट भुगोलमा रहेको अपि हिमालको आधार शिविरसम्म पुगेर यार्सागुम्बा संकलन गर्नेहरुको जोखिमलाई समेटर एनटिभी कोहलपुरको टोलीले तयार पारेको समाचार रिपोर्टलाई एक लाख रुपैंया राशिको पुरस्कारबाट संयुक्त रुपमा पुरस्कृत गरिएको हो ।
यसैगरी मन्त्री गुरुङले नेपाल टेलिभिजनमा दीर्घ सेवा पुर्याउनु भएका शाखाका पूर्व उपाध्यक्ष दृश्य सम्पादक सरस्वती खतिवडा शर्मालाई बिरेन्द्र कार्की स्मृति सम्मान तथा क्यामराम्यान सुधिर मिश्रलाई शशी चालिसे स्मृति सम्मानबाट पनि सम्मानित गर्नुभयो ।
पुरस्कार तथा समान वितरण समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण विधेयक पिएसवी प्रमाणीकरणको चरणमा रहेको भन्नुहुदै पिएसवीको मर्म अनुसार काम गर्न नेपाल टेलिभिजन र रेडियो नेपालको नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले पिएसवीले संचार क्षेत्रलाई नयाँ उचाइ दिने बताउदै पुरस्कारले मनोबल बढाउने मात्र नभइ लोकतान्त्रिक संस्कृतिलाई परिस्कृत बनाउने बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले राष्ट्रिय प्रसारण संस्था बलियो हुँदा राज्यलाई गर्ने योगदान प्रभावकारी हुने भन्दै पीएसवीले राष्ट्रिय प्रसारणलाई थप बलियो बनाउने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारीले एनटिभी प्रतिष्ठान शाखाले श्रमजिवीको हित प्रवर्द्धनमा उत्कृष्ट कार्य गरेको बताउदै महासंघको विधिवत निर्वाचन चाडै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमालले पत्रकारिता पेशालाई सुरक्षित सम्मानित पेशाकारुपमा स्थापित गर्न सरकारको पनि सहयोग आवश्यक भएको बताउदै नेपाल टेलिभिजनमा अबरुद्ध पदपूर्ति र बृत्ति विकासका अवसर खोल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार छनौटको आधार र मूल्याङकनबारे प्रकाश पार्दै पत्रकारिता क्षेत्रमा हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार विशिष्ट र विवाद रहित रहेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठान शाखाका उपाध्यक्ष दीपक समीर तथा पुरस्कृतका तर्फबाट पत्रकार होम कार्कीले हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारले टेलिभिजन पत्रकारहरुलाई प्रोत्साहित गरेको बताउनुभयो ।
२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा नेपाल टेलिभिजनका संवाददाता हेमराज भण्डारी र क्यामराम्यान सुनिल कुमार सिंह सहित तत्कालिन वन राज्यमन्त्री गोपाल राई, संरक्षणकर्मी हर्क गुरुङ लगायत २४ जना संरक्षणविदको निधन भएको थियो । दिंवगत हेम र सुनिलको संम्झनामा २०६४ सालदेखि एनटिभी प्रतिष्ठान शाखाले जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार स्थापना गरी जोखिमपूर्ण समाचार तयार गर्ने टेलिभिजनकर्मीहरुलाई असोज ७ गतेको दिनमा पुरस्कृत गर्दै आइरहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्