लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताउनुभएको छ ।

मङ्गलवार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताउनुभएको हो । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बत्ताउनुभयो ।

यसै गरी, साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढ्न नसक्ने पनि उहाँले बत्ताउनुभयो । साना उद्यमीको अधिकारको विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

यसै गरी अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बत्ताउनुभयो ।

साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासङ्घ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताउनुभयो ।

साथै, उहाँले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भइरहेको समेत बताउनुभयो । उहाँले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.