मुस्ताङका १०३ च्याङ्ग्रा लिएर फरार व्यक्ति पोखराबाट पक्राउ

कास्की – चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो।

रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने वर्ष ५० को फकिर अरू दुई जना साथीसहित मुस्ताङ जानुभएको थियो।  फकिरले असोज २ गते पोखरा–२५, घट्टेखोलाबाट च्याङ्ग्रा बिक्री गरी अरू नै सवारीमा पठाएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

फकिरमाथि कास्की जिल्ला अदालतबाट छ दिन म्याद थप भएको छ।  ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा फकिरमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

असोज १ गते निजी कारमा मुस्ताङ पुग्नुभएका फकिरले मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ का किसान ताक्ला गुरुङका च्याङ्ग्रा किनेर पोखरा पुगेपछि पैसा दिने सर्तमा ल्याउनुभएको थियो।  च्याङ्ग्रा धनी ताक्ला गुरुङसमेत पैसा लिन सँगै पोखरा आउनुभएको थियो।  पोखरा आइपुगेपछि डेमसाइडको होटलमा गुरुङ सुतिरहेको अवस्थामा फकिर सम्पर्कविहीन बन्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.