निकुञ्ज तथा आरक्ष सफाइ अभियान सुरु

चितवन- चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्ती नदी तटीय सरसफाइ अभियानले देशभरका निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रमा प्लाष्टिकजन्य फोहोर न्यूनीकरणका लागि जागरण अभियान सञ्चालन गरेको छ ।

संरक्षित क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने उद्देश्यले चितवनबाट सचेतना कार्यक्रम सुरु गरिएको राप्ती नदी तटीय सरसफाइ अभियानले जनाएको छ । सन् २०२५ भित्र देशभरका राष्ट्रिय निकुञ्ज र आरक्ष गरी २० वटा संरक्षित क्षेत्रमा यो अभियान सञ्चालन गरिने अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभएको छ ।

अभियानमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायत वातावरणको क्षेत्रमा क्रियाशील संस्थाहरुको सहयोग रहने छ । वन, नदी, खोला र सिमसार क्षेत्रहरुमा प्लाष्टिक र सिसा जन्य फोहोरहरूका कारण बिग्रँदै गएको वातावरण संरक्षणमा अभियान केन्द्रित रहेको संयोजक घिमिरेको भनाइ छ ।

चितवनमा राप्ती नदी तटीय सरसफाइ अभियान २०७२ सालमा गठन भएको थियो । यस कार्यमा हालसम्म १० हजार जना स्वयंसेवक खटिएका छन् । अहिले राप्ती तटीय क्षेत्रमा प्लाष्टिक कम हुँदै गएको अभियन्ता घिमिरेको भनाइ छ ।

प्लाष्टिक जन्य फोहोर न्यूनीकरणका लागि सचेतना कार्यक्रमको शुभारम्भ गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनमगरले यस अभियानलाई निकुञ्ज विभागको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यस अभियानले नेपालका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र तथा मध्यवर्ती क्षेत्रका वन, नदी र सिमसार क्षेत्रहरुमा प्लाष्टिकजन्य फोहोरका असर र नियन्त्रणका बारे सबै समुदायमा सचेतना फैलाउने भेलामा सहभागीहरुको विश्वास थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.